अर्धकट्टी मतको भरमा गच्छदारले साढे तीन सयले चुनाव जिते

सुनसरी २७ मंसिर
प्रतिनिधिसभा तर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदार झिनो मतान्तरले विजयी भएका छन् ।
बुधबार बिहान आएको अन्तिम मतपरिणाम अनुसार गच्छदार ३८ हजार ९ सय ७२ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा एमालेकी भगवती चौधरीले ३८ हजार ३ सय ५१ मत प्राप्त गरिन् ।
गच्छदारले चौधरीलाई ३ सय २१ मतले पछि पारेर विजयी भए । यसअघि सुरुवाती चरणमा चौधरीले गच्छदारलाई पछि पारेकी थिइन् । तर अन्तिम समयमा गच्छदारले अग्रता लिएर झिनो मतान्तरमा विजयी बने ।
मतगणनाको बिचमै विवादका कारण मतगणना रोकिएको थियो । अर्धकट्टीसहितको मतपत्र फेला परेपछि त्यसले विवाद उत्पन्न हुँदा मतगणना रोकिएको थियो । तर निर्वाचन आयोगले अर्धकट्टी मतपत्रको बारे कानुन नभएको भन्दै फरक नपर्ने आशयपछि त्यहाँ पुनः मतगणना चलेको थियो ।
मतगणनामा उपस्थित प्रतिनिधिका अनुसार अर्धकट्टीसहित फेला परेको ९ वटा मतपत्र कांग्रेसमा भोट खसालिएको थियो ।
वाम गठबन्धनका नेता कार्यकर्ताले गच्छदारले अर्धकट्टीसहित फर्जी मतकै आधारमा चुनाव जितेको आरोप समेत लगाएका छन् । उनीहरुले त्यहाँ धाँधली देखिएको भन्दै अर्धकट्टीसहितको ९ वटा मतपत्र फेला परेपनि अन्य यस्ता थुप्रै मतपत्र हुनसक्ने र फर्जीकै आधारमा गच्छदार विजयी बनेको आरोप लगाएका छन् । गच्छदार लोकतान्त्रिक फोरमका अध्यक्ष बनेपनि चुनावअघि कांग्रेससँग पार्टी एकता गरेका थिए ।
प्रकाशित मिति:
December 13, 2017