भोट बटुल्न सर्वसाधरणलाई त्रासित बनाउँदै प्रधानमन्त्री देउवा
काठमाडौं १८ मंसिर
अबको तीन दिनमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पक्षमा भोट बटुल्न दल तथा उम्मेदवारले विभिन्न चुनावी प्रचार शैली र घोषणा पत्र जारी गरेका छन् ।
दल तथा अधिकांश उम्मेदवारले आफ्नाे विकासका योजना लिएर जनताको घर दैलो तथा चुनावी कार्यक्रममा सहभागी भएपनि कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा भने जनतालाई त्रासित बनाएर भोट बटुल्ने शैलीमा छन् । उनले कम्युनिष्टलाई गाली गर्ने तथा कम्युनिष्टले जिते सबै सखाप हुन्छ भन्ने सन्देश छरेर कम्युनिष्टको मत बिगारेर जित्ने नीति लिएका हुन् । देउवाले हरेक चुनावी सभामा वाम गठबन्धनलाई गाली गर्दै कांग्रेसबाट देशकाे विकास हुने बताएपनि देशलाई कसरी समृद्ध र विकसित बनाउन सकिन्छ भनेर भन्ने गरेका छैनन् । बरू उनकाे बढी ध्यान वाम गठबन्धनलाइ गाली गर्नैमा बढी खर्चिएएकाे पाइएकाे छ ।
कांग्रेसले घोषणापत्रमा नै कम्युनिष्ट हत्यारा हुन्छन्, शान्तिका पक्षधर हुँदैनन्, राज्य आतंक सिर्जना गर्छन् भनेर जनताको मन भड्काएर भोट तान्ने रणनीति अपनाएको थियो । त्यसपछि भएका कांग्रेसका सबै चुनावी सभा तथा सम्बोधनमा कांग्रेसले जनतामा कम्युनिष्टको नाममा आतंक सिर्जना फैलाउने र भोट आफ्नो पक्षमा तान्ने चुनावी रणनीति अपनाउँदै आएको छ ।
देउवाले सोमबार मात्र डडेल्धुरामा आयोजित चुनावी सभामा कम्युनिष्टलाई जिताए लोकतन्त्र खतरामा पर्ने भन्दै त्रास पैदा गरेर भोट तान्ने नीतिलाई जारी नै राखे ।
वाम गठबन्धन दलले भने आफूहरुले दुई तिहाई जित्ने निश्चित भईसकेकाले कांग्रेस अत्तालिएर हुने नहुने कुरा गर्दै हिडेको बताएका छन् । उनीहरुले कम्युनिष्टको नाममा जति नै कांग्रेसले भ्रम छरेपनि जनताले देशको विकास गर्ने पार्टी वामगठबन्धन नै भएको भनेर बुझिसकेकाले चुनावमा बहुमत ल्याएर सरकार बनाउने र त्यसपछि मुलुकको विकासमा अहोरात्र जुट्ने समेत बताएका छन् ।
प्रकाशित मिति:
December 04, 2017