बस दुर्घटनामा ८ को मृत्यु २७ घाइते, १५ जना भने गम्भीर I
असार १९ – आज बिहान दार्चुलामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
कैलालीको धनगढीबाट दार्चुला सदरमुकामतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा अरु २७ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ ।
सुदूरपश्चिम यातायातको ना४ख ६६०८ नम्बरको बस दार्चुलाको ग्वानी–५ मा बिहान ५ बजे दुर्घटनामा परेको हो ।
मृतकहरूमा एक महिला र सातजना पुरुष रहेका र तीमध्ये नेकपा (एमाले)का दार्चुला जिल्ला कमिटी सदस्य लक्ष्मीदत्त जोशी र ग्वानी–१ का धौलसिंह धामीको मात्रै सनाखत भएको बताइएको छ ।
घाइतेहरूलाई इलाका स्वास्थ्यचौकी गोकुलेश्वरमा प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल बैतडी र डडेल्धुराको टिम अस्पतालतर्फ पठाइएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उक्त बसमा ४० जना यात्रु रहेका थिए ।
क्षमताभन्दा बढी यात्रु बोकेको बस अनियन्त्रित हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धाबाट खुल्न आएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति:
July 03, 2012