असार ३१ – नवगठित नेकपा माओवादी सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले आज राजधानीका कलेज तथा प्लस टुहरुले भड्किलो रुपमा विद्यार्थीलाई तान्न प्रयोग गरिएको विज्ञापनहरु भत्काएर आगो लगाईदिएको छ ।
अंग्रेजीमा नाम राखिएका तथा भड्किला तडक–भडक तरिकाले विद्यार्थीलाई तान्न विभिन्न स्थानमा झुन्ड्याइएका त्यस्ता कलेज तथा प्लस टुका विज्ञापनलाई क्रान्तिकारीले संकलन गरेर भृकुटी मण्डपस्थित आरआर कलेज अगाडी ल्याएर आगो लगाईदिएको हो ।
यसअघि नै पटक पटक सम्बन्धित निकायलाई यसबारे ध्यानाकर्षण गराउँदै सच्याउन माग गर्दा पनि उनीहरुले कार्यान्वयन नगरेपछि आँफैले हटाउन सुरु गरेको क्रान्तिकारीले जनाएको छ ।
यसअघि माघ ५ गते शिक्षालाई आधुनिकीरण तथा व्यवस्थित बनाउन क्रान्तिकारी र उच्च माध्यमिकत शिक्षा परिषदबीच १३ बुँदे सहमति भएपनि त्यो कार्यान्वयन नहुँदा आफूहरु आन्दोलनमा उत्रनु परेको क्रान्तिकारीले जनाएको छ ।
क्रान्तिकारीले विद्यालयलाई निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने, फड्किलो विज्ञापन दिएर आर्थिक ब्रह्म लुट गर्न नपाईने, शिक्षालाई समान र निशुल्क बनाइनुपर्ने, अंग्रेजी नामहरु हटाएर राष्ट्रियता झल्कने नाम राख्नुपर्ने तथा विगतमा गरिएका सहमतिको पालना गरिनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएको हो ।