दुर्घटनामा सशस्त्र प्रहरीको मृत्यु, अन्य तीन जना घाइते
साउन २६ – वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको पथलैयाचोकमा गएराति भएको सडक दुर्घटनामा परी एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीनजना गम्भीर घाइते भएका छन् ।
विपरीत दिशाबाट आउँदै गरेका ना१९प ५८८२ र ना.८प. ९६९ नम्बरको मोटरसाइकल राति करिब ८ बजे एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक सशस्त्र प्रहरी जवान इन्द्र चौलागाईंको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिन्धुली जिल्ला जवलाकन्या गाविस–३ बस्ने प्रहरी जवान चौलागाईं हाल सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प बेलदारी बारामा कार्यरत थिए । चौलागाईंको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको थियो ।
दुर्घटनामा परी घाइते हुनेमा मकवानपुर पदमपोखरी गाविस–४ का पूर्णबहादुर लामा, बारा मनहर्वा गाविस–३ का दीपेश बस्नेत र सोही गाविस–९ का भैरव घिमिरे रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनीहरू तीनै जनाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ भने उनीहरूको स्वास्थ्य स्थिति गम्भीर रहेको अस्पतालले जनाएको छ । रासस
प्रकाशित मिति:
August 10, 2012