भदौ १३ धनकुटा रासस – परिश्रम गर्नसके पैसा कमाउन विदेशै जानु पर्दैन भन्ने उदाहरण दिन सफल बनेका छन् धनकुटा– ५ तल्लोकोप्चेका दलबहादुर तामाङ ।
विदेश गएर धेरै पैसा कमाउने आशामा डेढ वर्षअघि कतार पुगेका उनी खाली हात फर्किनु परेपछि आफ्नै ठाउँमा केही गर्ने सोचका साथ कम्मर कसेर अहिले लागेका छन् ।
रु एक लाख बीस हजार खर्च गरेर कतार पुगेका उनी तातो घाम र कामको चाप सहन नसकेर ३० हजार ऋण समेत बोकी उनी छ महिनाअघि स्वदेश फर्किएका थिए ।
साधारण लेखपढ मात्र गर्नसक्ने उनले जागीरको लागि अन्य ठाउँमा सम्भावना नदेखेपछि छ महिनादेखि धनकुटा बजारमा पावर टेलर (मिनी ट्रयाक्टर ) किनेर चलाउन थालेका छन् । एक लाख ६० हजार लगाएर किनेको मिनी ट्राक्टर अहिले उनका लागि गुजाराको भरपर्दो स्रोत बनेको छ ।
मिनी ट्रयाक्टरबाट अहिले मासिक खर्च कटाएर ४० देखि ५० हजारसम्म आम्दानी गर्ने गरेको उनी बताउँछन् । एक छोरा र एक छोरीका बाबुसमेत रहेका उनलाई सुरुसुरुमा काममा निकै गाह्रो भएको भए पनि अहिले चिनजान पनि बढेकाले काम सजिलो बन्दै गएको छ । पहाडी बजार उकालो ओरालो र साँगुरा गल्ली रहेको धनकुटा बजारको लागि मिनी ट्रयाक्टर निकै उपयोगी बन्दै गएको छ ।
सामान ओसारपसार गर्न साँगुरा गल्लीमा पनि सजिलै जाने भएकाले पनि यो साधन निकै उपयोगी बन्दै गएको छ । अहिले धनकुटामा एक दर्जन बढी मिनी टय्राक्टर सञ्चालनमा रहेका छन् । मिनी ट्रयाक्टर चलाउने सबै युवाले मासिकरूपमा राम्रै आम्दानी गर्दै आएकाले विदेश गएर कष्टपूर्ण काम गर्नुभन्दा स्वदेशमै काम गर्न सके युवाले विदेशिनु नपर्ने धनकुटा– ६ का दिवस विक बताउँछन् ।