भदौ १५ रासस – भारतीय प्रहरीको नेपालीमाथि ज्याजति बढेर गएको छ ।
विराटनगर उपमहानगरपालिका–१९ निवासी मौलाना रिजवान अहमदलाई भारतीय प्रहरीको दबाबमा पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनरमा सोधपुछ एवम् केरकार गरेकोमा राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धन जिल्ला कार्यसमिति मोरङले आपत्ति जनाएको छ ।
आफ्नो गाउँमा पठनपाठन गराउने र मस्जिदमा नमाज पढाउने सोझा धर्मगुरुलाई सादा पोशाकमा भारतबाट आएका सिबिआईले नेपाल प्रहरीको कार्यालयमा आँखामा पट्टी लगाएर सोधपुछ गरेका थिए ।
आफूलाई थाहा नभएको विषय र नामका विषयमा सोधपुछ गरेको र केही तस्वीरहरूको बारेमा जानकारी दिएमा भारतीय रु ५० लाख दिने सोधपुछको क्रममा आफूलाई भनेको अहमद रिजवानले पत्रकार सम्मेलनमा जानकारी दिए ।
सो अवसरमा गठबन्धनका अध्यक्ष साह अहमद गुड्डु, सचिव फिरोज खान र प्रचार विभागका प्रमुख वसिम आलमले भारतीय प्रहरीले नेपाली भूमिमा नागरिकमाथि गरेको यस्तो व्यवहार निन्दनीय रहेको र यस्तो किसिमको हस्तक्षेपले नेपालीहरूको स्वाभिमानमा आँच पुगेको प्रतिक्रिया दिए ।
मौलाना रिजवानलाई हिजो विराटनगरको भट्टीमोडबाट प्रहरीले पक्राउ गरी साँझ छाडेको र बिहीबार बिहान पुनः पक्राउ गरी दिउँसो १२ः०० बजे पूर्वक्षेत्र प्रहरी कार्यालयले छाडेको थियो ।