भदौ १५ (रासस) – वर्षौदेखि प्रहरी प्रशासनमा धाउँदासमेत अझै आधा दर्जनभन्दा बढी चितवनका बेपत्ता परिवारले राहत पाउन सकेका छैनन् ।
आंशिक राहत पाएर पनि आफ्ना परिवारको सदस्य किन र कसरी बेपत्ता भयो भन्ने विषय अधिकांशलाई थाहा छैन ।
चितवनमा ३९ जना बेपत्ता भएको स्थानीय शान्ति समितिले जनाएको छ ।
तीमध्ये तत्कालीन अवस्थामा शसस्त्र द्वन्द्वमा रहेको माओवादीबाट चार जना र राज्य पक्षबाट ३५ जना बेपत्ता बनाइएको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले जनाएको छ ।
आइसिआरसीको सहयोगमा रेडक्रसले बेपत्ता परिवार र द्वन्द्व प्रभावितको तथ्याङ्क लिएको थियो ।
पश्चिम चितवनको मङ्गलपुर गाविस–९ शरणपुरका पुष्प क्षेष्ठ २०६१ सालमा राज्य पक्षवाट बेपत्ता पारिएका आफ्नो छोरा गिरेन्द्रका विषयमा आठ वर्षसम्म धाउँदासमेत केही पत्तो नलागेको बताउँछन् ।
लमजुङ बेसी सहर गएको आफ्नो २० वर्षे छोरा बेपत्ता भएको बताउँदै उनँले हालसम्म राज्यपक्षबाट छोराको अवस्था र राहत केही नपाएको बताए ।
उनको मात्र होइन छोरा माधवराज ढकाल बेपत्ता भएपछि अहिलेसम्म अवस्था थाहा नपाउँदा पिता तोयानाथ ढकाल जस्ता बेपत्ता परिवारमध्ये कतिपयले राहत पाउन सकेका छैनन् ।
शान्ति समिति चितवनका संयोजक बद्री तिमल्सिना राज्य गम्भीर नहँुदा बेपत्ता परिवारले स्थितिबारे जानकारी र राहत दुबै नपाएको बताउँछन् ।