प्रहरी र शिक्षकबीच झडप, ५९ जना शिक्षक घाइते
भदौ १२ – राजधानीमा आज प्रहरी र शिक्षकबीच झडप भएको छ । सो क्रममा ५९ जना शिक्षक घाइते भएका छन् ।
सेवासुविधाको माग गर्दै केशरमहलस्थित शिक्षा मन्त्रालयमा घेराउ तथा धर्ना दिने क्रममा पुगेका विभिन्न शिक्षक तथा सुरक्षाकर्मीबीच आज झडप हुँदा उनीहरु घाइते भएका हुन् ।
झडपमा परी कमलेश कुशवाह, चन्द्रिका साह, शान्ति शर्मा, कल्पना खरेललगायतका आठ शिक्षक गम्भीर घाइते भएको र अन्य शिक्षक सामान्य घाइते भई उनीहरुको अहिले काठमाडौँका वीर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
प्रतिविद्यार्थी लागत शिक्षक सङ्घर्ष समितिले विभिन्न समयमा मन्त्रालयसँग गरेका सहमतिको कार्यान्वयनको माग गर्दै समयसापेक्ष तलब वृद्धि, शिक्षकको स्थायित्वलगायतका सामाजिक सुरक्षा माग गरी घरोउ गर्ने क्रममा सुरक्षाकर्मीसँग झडप भएको हो ।
नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष गुणराज लोहनीले ‘शान्तिपूर्ण रुपमा आफ्नो माग राख्दै गरेका शिक्षकमाथि प्रहरीले हस्तक्षेप गरेको बताएका छन् ।
प्रकाशित मिति:
August 28, 2012