भदौ १६ रासस – पाँच करोडभन्दा बढी रकम ठगी गरेको अभियोगमा हिजो पक्राउ परेका मनोजबहादुर सिंहको घरबाट आज प्रहरीले केही हातहतियारसमेत बरामद गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिंहको ललितपुरको इमाडोलस्थित घरमा छापा मारेर एक थान पेस्तोल, एक थान एयरगन र दुई थान म्याग्जीन बरामद गरेको छ ।
ती सबै हतियार इनारमा लुकाएर राखेको भन्ने सूचनाका आधारमा इनारको पानी फ्याँकेर बरामद गरिएको ब्यूरोका प्रहरी नायब उपरीक्षक जगदीशचन्द्र पोखरेलले बताए ।
कोटेश्वर महादेवस्थानस्थित निज सिंहको डेरामा प्रहरीले हिजो छापा मार्दा नक्कली भिषा लगाएका ८९ थान राहदानी बरामद गरेको थियो ।
अभियुक्त सिंहले ४०० भन्दाबढीलाई जागिर लगाइदिने तथा राम्रो कमाई हुने ठाउँमा विदेश पठाइदिन्छु भनेर ठूलो परिमाणमा रकम ठगी गर्दै आएको प्रहरीको दाबी छ ।
वीरगन्ज उपमहानगरपालिका–१५ स्थायी घर भई ललितपुर जिल्ला इमाडोल–८ बस्ने ४० वर्षीय सिंहलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले यही भदौ १२ गते काठमाडौं महानगरपालिका–३ रानिबारीस्थित भोजपुरे खाजाघरबाट पक्राउ गरेको थियो ।
निजले जिल्ला प्रसाशन कार्यालय पर्सा र जिल्ला प्रशासन कार्यालय काठमाडाँैंबाट नागरिकता लिएको खुल्न आएको तथा वैदेशिक रोजगार ठगी, वन्यजन्तु अपराध, हातहतियार खरखजाना, पुरातात्विक वस्तु सङ्ग्रह, सरकारी छाप दस्तखत किर्ते, नागरिकता किर्ते र रकम असुल गरी ठगी गर्नेजस्ता आपराधिक कार्यमा लामो समयदेखि संलग्न रहेको प्रहरीले जनाएको छ ।
निजको घरबाट प्रहरीले आखेटोपहारबाट बनाइएका वास्तविक जनावरजस्तो देखिने आकृतिहरू, कार्यालयका रबरस्टाम्प छाप, नेपाल प्रहरी भर्ना छनोट भएको भनिएको परिचयपत्र, सशस्त्र प्रहरी बलको छनोट परिचयपत्र भनिएको कार्ड, नेपाली सेनाको भर्ना छनोट उमेदवार परिचयपत्र भनिएको कागजात बरामद गरेको छ ।
साथै, अपराधमा प्रयोग भएको कम्प्युटर तथा प्रिन्टर, विभिन्न देशको भिषा आवेदन फारम तथा करारसम्बन्धी कागजातहरू, मागपत्रको छायाँकपी, पूर्व महाराजाधिराजको सचिवालय लेखिएको खाम, तुल्सी चौधरी र पुनदेव चौधरीको नाममा नक्कली भिषा लागेको छायाँकपी, विभिन्न देवीदेवताको धातुको मूर्तिसमेत प्रहरीले बरामद गरेको छ ।
निजलाई थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर हनुमानढोका पठाइएको छ ।