असोज ८ - चालु आव सुरु भएपछि नेपाल विद्युत् प्रधिकरणले विभित्र सात आयोजनासँग विद्युत् खरिद सम्झौता गरेको छ ।
निजी क्षेत्रबाट निर्माण गरिएका ती आयोजनहरूसँग प्राधिकरणले विद्युत् खरिद सम्झौता गरेको हो ।
साउनयता मात्र सात जलविद्युत् आयोजनाबाट उत्पादन हुने करिब ४५ मेगावाट उत्पादनका लागि सम्झौता गरिएको प्राधिकरणले जानकारी दिएको छ ।
नयाँ आव सुरु भएपछि सात आयोजनाले विद्युत् खरिद सम्झौता (पिपिए) गरेका कारण जलविद्युत्को क्षेत्रमा उत्साहको सञ्चार भएको बताइएको छ ।
प्राधिकरणका अनुसार १ साउनमा १० मेगावाटको सङ्खुवासभाको अपर पिलुवा, ५ साउनमा ललितपुरको ४.३६० मेगावाटको थुङ्गन र दुई मेगावाटको खानी खोला, ३२ साउनमा ३५० किलोवाटको दोलखाको सुस्मा बुखरी, १० भदौमा नुवाकोटको ५.३२५ मेगावाटको मिडल तादी, २६ भदौमा ९९५ किलोवाटको गुल्मीको अपर जुम्दी र २ असोजमा लमजुङको १० मेगावाटको अपर मोदीले सम्झौता गरेको प्राधिकरणले जानकारी दिएको छ ।
यसैगरी साना तथा अन्य मझौला आयोजनाहरूबाट पनि विद्युत् खरिद सम्झौता भएका कारण साउनयता ४५ मेगावाट जलविद्युत् आयोजनामा विद्युत् खरिद सम्झौता भएको प्राधिकरणले जनाएको हो ।
प्राधिकरणका प्रवक्ता शेरसिंह भाटले चालु आवमा विद्युत् खरिद सम्झौताको क्रम बढेको छ, आयोजनाहरू निर्माणको क्रममा रहेको र ती आयोजनाहरूलाई सहजरूपमा काम गर्ने वातावरण पनि तयार होस् भनेर खरिद सम्झौता गरिएको समेत भाटले जानकारी दिनुभयो ।
प्रवक्ता भाटका अनुसार गतवर्ष २२ आयोजनाको ४५४ मेगावाट बराबरको पिपिए गरिएको थियो । यसैगरी सुपर सिक्स नामले परिचित ६ आयोजनाको पिपिए पनि अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।
कुल २१०.५ मेगावाटका ती आयोजना साढे तीन वर्षदेखि ६ वर्षभित्र निर्माण सम्पत्र हुने गरी सहमति गर्ने गरी पिपिए हुन लागेको बताइएको छ ।
ती आयोजनाहरूमा १६ मेगावाटको दोलखाको सिङ्गटी, २४.१ दोलखाकै मेगावाटको खारे, २३.५ मेगावाटको सोलु, ८२ मेगावाटको तल्लो सोलु, सङ्खुवासभाको १४.९ मेगावाटको माया र ताप्लेजुङको ५० मेगावाटको मेवाखोला जलविद्युत् आयोजनाको पनि पिपिए अन्तिम चरणमा पुगेको बताइएको छ ।
ती आयोजनाहरूको पिपिएका लागि उनीहरूसँग छलफल भइरहेको र केही समयभित्रै पिपिए गरिने प्रवक्ता भाटको भनाइ छ ।
पिपिए भएका आयोजनाहरूको वर्षायाम र हिँउदमा फरकफरक खरिद दर राखिएको बताइएको छ । रासस