असोज ८ – महोत्तरी जिल्लासँग जोडिएका भारतीय बजारहरूमा नेपाली ग्राहकले निकै दुर्दसा भोग्नुपरेको छ ।
भारतीय रूपैयाँको अभावमा सीमापारिको बजारमा मालवस्तु खरिदारी गर्न जाने नेपालीसँग स्थानीय व्यापारीले साधारण दरभन्दा निकै बढीमा नेपाली पैसा लिने गरेको जलेश्वर–७ का ग्राहक सचिन मण्डलले बताए ।
महोत्तरीको सीमावर्ती भारतीय बजार भिट्ठामोड, मधवापुर र सुरसन्डमा पसलेले नेपाली पैसाको अवमूल्यन गरेर निकै कम भाउ दिने गरेको सर्वसाधारणले बताएका छन् ।
उपभोक्ताका अनुसार भारतीयले अहिले १०० भारतीय रूपैयाँका लागि नेपाली रु १६० मात्र लिनुपर्नेमा न्यूनतम् १६८ र अधिकतम् १७५सम्म लिने गरेका छन् ।
उपभोक्ताले सामान किनेमा १०० भारुका लागि १६८ नेपाली र भारतीय पैसा लिन चाहेमा १०० का लागि १७५ तिर्नुपर्ने बाध्यता रहेको बताइएको छ ।
हिजो मात्रै सुरसन्ड बजारमा घरेलु सामान खरिद गर्न गएका जलेश्वर–४ का असिम दुबेले एक हजार भारुको सामान किन्दा एक हजार ६०० मात्रै तिर्नुपर्नेमा एक हजार ६८० तिर्नुपरेको बताउनुभयो ।
त्यस्तै छोरालाई उपचारका लागि भारतीय सहर लैजानुपर्ने भन्दै भारतीय पैसा लिन गएका जलेश्वरका दिपु पुर्वेले एक हजार नेपाली दिँदा ५७० भारु मात्रै पाएको दुखेसो सुनाए ।
यसरी महोत्तरीको सीमावर्ती भारतीय बजारमा सरसामान किनमेल गर्न वा भारतीय सहर बजारमा कामकाजका लागि जाने नेपालीले नेपाली पैसाको अवमूल्यनमा निकै कठिनाइ भोग्नुपर्छ भने भारतीय पैसा नभएमा कतिपय ठाउँमा कामकाज पनि हुँदैन, साथै कतिपय ठाउँबाट भोकै पनि आउनुपर्छ ।
बूढापाकाहरू भारतीयले अहिलेसम्मकै उच्च दरमा नेपाली पैसामा बट्टा लिने गरेको र यसको प्रमुख दोषी हाम्रो सरकारी नीति र भारतसँगको मुद्रा सम्बन्ध रहेको बताउँछन् । रासस