माघ मसान्तसम्म एक लाख घर बन्ने
काठमाडौँ, २० माघ (रासस) । माघ मसान्तसम्म भूकम्पले भत्किएका एक लाख घर पुनःनिर्माण सम्पन्न हुने र निर्माणाधीन घरको संख्या तीन लाख पुग्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले आउँदो मनसुनअघि साढे चार लाख पीडितलाई आवासको व्यवस्था गर्ने गरी काम भइरहेको बताए । वर्षात् अगावै ६० प्रतिशत भूकम्प पीडितलाई स्थायी आवासको व्यवस्था गर्ने लक्ष्य प्राधिकरणको छ ।
“हाल ९५ हजार घर पुनःनिर्माण सम्पन्न भएको र दुई लाख ८४ हजार आवास बनिरहेको छ, भूकम्प अति प्रभावित १४ र प्रभावित १८ जिल्लामा खटिएका इन्जिनियरलाई पाँच समूहमा बाँडेर भत्ताको व्यवस्था गरेपछि काम गर्न प्रोत्साहन मिलेको छ, हाल दुर्गममा खटिएकाले मासिक रु ५८ हजार र सुगममा खटिनेले रु ४२ हजार बुझ्छन्” प्रमुख कार्यकारी अधिकृत भुसालले भने ।
भूकम्प अति प्रभावित १४ जिल्लाका १३१ स्थानीय तहका एक हजार १८६ वडामा इन्जिनियर खटाइएको छ । पुनःनिर्माणमा आवश्यक पर्ने दक्ष निर्माणकर्मी बढाउन १४ जिल्लाका २१ हजारलाई तालीम दिइएको प्राधिकरणले जनाएको छ । प्रभावित १८ जिल्लामा पाँच हजारलाई तालिम दिइएको छ ।
प्राधिकरणले ७० वर्ष नाघेका वृद्ध, ६५ वर्ष नाघेका एकल महिला, अपांगताको परिचयपत्र भएका र १६ वर्षमुनिका नाबालक भूकम्पपीडितका आवास पुनःनिर्माण गरिदिने निर्णय गरेको छ । यससम्बन्ध कार्यविधि माघ ११ गते जारी गरिएको उनले जानकारी दिए ।
यसका लागि हालसम्म ४०० को नाम दर्ता भएको छ । सहुलियत दरको ऋण ६५९ पीडितले मात्र पाएकाले सहज बनाउन सरोकार भएका निकायलाई अनुरोध गरेको प्राधिकरणले जनाएको छ ।
पुनःनिर्माणका लागि बजेट अपुग हुने भएकाले मंसिर, पुसमा अर्को दाता सम्मेलनको तयारी गर्ने प्राधिकरणको योजना छ । धरहरा प्राधिकरणले नै निर्माण गर्ने भएको छ । बाहिरी संरचना परम्परागत र भित्री संरचनामा ‘लिफ्ट’ सहित आधुनिक शैली प्रयोग गर्ने गरी ‘डिजाइन’ भइरहेको जनाइएको छ ।
भुसालले पीडितलाई थप रु एक लाख दिने सरकारको निर्णय नयाँ बजेट नआएसम्म दिन नसकिने पनि उहाँले बताउनुभयो । शुक्रबारसम्म पीडितलाई रु एक लाख थप दिने निर्णयमा के छ भन्ने विषयमा प्राधिकरणमा कुनै जानकारी पुगेको छैन ।
हाल प्राधिकरणसँग रु ५३ अर्ब रहेकाले अझै रु ४८ अर्ब अपुग रहेको भुसालले सुनाउनुभयो । “रु ४८ अर्ब व्यवस्था गर्न अर्थ मन्त्रालयमा म लगातार धाइरहेको छु, मन्त्रालयले आवश्यक रकम खोज्ने वचन दिएको छ” उनले भने ।
काष्ठमण्डप पनि यसै आर्थिक वर्षभित्रै पुनःनिर्माण शुरुवात् गर्ने प्राधिकरणको लक्ष्य छ । उपत्यकामा भत्किएका एक लाख एक हजार घरमध्ये ८० हजार बन्न बाँकी छन् । गल्लीगल्लीमा रहेका घर निर्माणका लागि बैंकले नदिएकाले प्राधिकरणभित्रै बैंकिङ एकाइ खडा गर्ने निर्णय भएको छ । नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयका अधिकारी राखेर एकाइ खडा गरी ऋण प्रवाह गर्ने अन्तिम तयारीमा लागिएको उनले जनाए ।
माघ २६ गते बस्ने प्राधिकरण निर्देशक समितिको बैठकले दोस्रो किस्ता पुस मसान्तसम्म लिइसक्नुपर्ने भनी तोकिएकोे म्याद थप्ने वा नथप्नेबारे निर्णय लिइने भुसालको भनाइ थियो ।
प्रकाशित मिति:
February 03, 2018