‘इन्नोसेन्स अफ मुस्लिम्स’ नामक सो चलचित्र इस्लाम धर्म विरोधी भएको भन्दै विश्वका विभिन्न मुस्लिम राष्ट्रमा विरोध जारी रहेको छ ।
त्यसै विरोधको क्रममा आज बङ्गलादेशको प्रायः सबै विद्यालय, पसल र कार्यालयहरु बन्द भएका छन् ।
विपक्षी पार्टीले आह्वान गरेको यस हडताल देशव्यापी रुपमा भएको समाचारमा उल्लेख छ । राजधानी ढाकाको सडकमा हजारौँ प्रहरीलाई तैनाथ गरिएको समाचारमा जनाइएको छ ।
बङ्गलादेश मुसलमानहरूको बाहुल्यता रहेको देशको रुपमा परिचित छ । प्रहरीका अनुसार बङ्गलादेशको राजधानी ढाकाका विभिन्न कुटनीतिक क्षेत्र र अरु विभिन्न ठाउँमा करिब १० हजार प्रहरी तैनाथ गरिएको जनाइएको छ ।
शनिबार पनि यस चलचित्रको विरोध गर्दै हजारौँ व्यक्तिले प्रदर्शन गरेको समाचारमा जनाइएको छ । त्यसै क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको समाचार छ ।
प्रहरीले अश्रृग्यास समेत प्रयोग गरेको र प्रदर्शनकारीले प्रहरीको सवारीसाधन माथि ढुङ्गामुढा प्रहार गरेको समाचारमा उल्लेख छ । प्रदर्शनको क्रममा ५० भन्दा बढी व्यक्ति घाइते भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यसैबीच, पाकिस्तानको राजधानी इस्लामावाद तथा अन्य दुई ठूला सहर कराँची र पेसावरमा गत पाँचदिनदेखि जारी रहेको मुस्लिम धर्म विरोधी भनिएको चलचित्र विरुद्धको प्रदर्शनमा कम्तीमा पनि २३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
साथै सोही विषयमा अर्काे दक्षिण एसियाली देश अफगानिस्तानमा पनि दिनहूँजसो प्रदर्शनहरु भइरहेको बताइएको छ । त्यहाँ पनि उक्त चलचित्रको विरोधमा जारी प्रदर्शनका क्रममा त्यहाँ पनि कयौं नागरिकको ज्यान गएको छ ।
विरोधका क्रममा अमेरिकी दूतावासमा आक्रमण गर्न खोज्नुका साथै अमेरिकी नियोगहरुलाई निशाना बनाउने गरिएका समाचारहरुमा जनाइएको छ ।
सोही विरोधका क्रममा अहिलेसम्म विभिन्न देशमा गरी कम्तीमा पनि ५० जनाको ज्यान गइसकेको छ । शनिबार मात्र पनि विश्वका विभिन्न मुस्लिम देशमा प्रदर्शन भएका बताइएको छ । कतिपय स्थानहरूमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीहरूलाई तितरबितर पनि पारेको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले विश्वभर अमेरिकी दूतावासमा सुरक्षा व्यवस्था विस्तार गर्न आदेश दिनुभएको छ । सोहीबमोजिम विश्वका कतिपय मुस्लिम देशका अमेरिकी राजदूतावासहरूमा सुरक्षा व्यवस्था पनि कडा पारिएको बताइएको छ ।
एक हप्तादिन बितिसक्दा पनि अमेरिकाको विरोधमा विभिन्न देशमा प्रदर्शन भने झन् बढीरहेको छ । – रासस/एएफपी