प्रहरीको लाठी चार्जबाट एकको मृत्यु, स्थानीयले प्रहरीको गाडी पनि जलाईदिए
भदौ २४ – सर्लाहीमा आज भएको झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट ५० वर्षीय एक व्यक्तिको मृत्यु भएको छ ।
सर्लाहीस्थित लक्ष्मीपुर कोद्राहामा स्थानीय बासिन्दा र प्रहरीबीच भएको झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट लक्ष्मीपुर कोद्राहा–४ का ५० वर्षीय इजहार पमरियाको मृत्यु भएको हो ।
उक्त झडपमा परी नेकपा एमाले इलाका कमिटी सदस्य वडा नं ५ का ४७ वर्षीय जमरुदिन मन्सुर, वडा नं ६ का ४० वर्षीय समशुल मन्सुरसहित झन्डै १२ स्थानीय बासिन्दा घाइते भएका छन् ।
मर्मतका लागि लगेको एक महिनाभन्दा बढी समय व्यतीत भइसक्दा पनि ट्रान्सफर्मर नल्याएको भन्दै स्थानीय जनताले आज बिहान ९ बजेदेखि मलङ्गवा नपरपुरको बीचमा पर्ने लक्ष्मीपुरमा चक्काजाम गरेपछि त्यहाँ झडपको अवस्था सुरु भएको हो ।
ट्रान्सफर्मर मर्मत गरी ल्याउँदा हरिपुरका बासिन्दाले हरिपुरमै रोकिदिएपछि आफूहरु आन्दोलित भएको र प्रहरीले सिधै लाठी प्रहार गरेको स्थानीय बासिन्दाको भनाई छ ।
झडपका क्रममा स्थानीय जनताले इलाका प्रहरी कार्यालय बरहथवाका गाडी पनि जलाइदिएका छन् ।
इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक वैद्यनाथ यादवको नेतृत्वमा रहेको प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको थियो ।
प्रकाशित मिति:
September 09, 2012