काठमाडौँबाट अपहरित दुई छात्राको रक्सौलमा उद्धार
भदौ १६ रासस– काठमाडौँबाट अपहरणमा परेका दुई स्कुले छात्रालाई शुक्रबार रक्सौलबाट उद्धार गरिएको छ ।
काठमाडौँको चावेल कपनस्थित चाहना इङ्गलिस हाइयर सेकेन्डरी स्कुलमा कक्षा आठमा अध्ययनरत छात्राहरू कपन–३ की १४ वर्षीया कञ्चन रेग्मी र काठमाडौँ कालोपुलकी १५ वर्षीया कविता रम्तेलको राति उद्धार गरिएको हो । पर्सा प्रहरीले रक्सौल प्रहरीसँग समन्वय गरी उनीहरूलाई वीरगन्ज ल्याएको छ ।
अपहरित छात्राहरूले आफूहरू बिहीबार साँझ ४ बजे विद्यालयबाट घर फर्कंदै गर्दा विद्यालयअगाडि नै मुखमा मास्क लगाएकी एक अपरिचित महिलाले आँखा तर्दै तिमीहरू कहाँ हिँडेकी भन्दै आफूहरूको गालामा छोएको र त्यसपछि आफूहरूको एकै पटक शुक्रबार बिहान होस खुलेको बताए ।
होस खुलेपछि आफूहरू भागेर त्यहाँबाट करिब चार किमी पश्चिम पुगेको र एक अज्ञात परिवारले आफूहरूलाई शरण दिएको उनीहरूले बताए । त्यहाँबाट उनीहरूकै नेपाली सिम प्रयोग गरेर मोबाइलबाट आ–आफ्नो घरमा फोन गरेको अपहृत बालिकाले बताए । त्यसपछि भारतीय प्रहरीले उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोहर भट्टले भारतीय प्रहरीले सूचना दिएपछि आफूले दुवै किशोरीलाई जिम्मा लिएर ल्याएको बताउनुभयो । दुवैका आफन्त उनीहरूलाई बुझ्न यहाँ आइपुगेका छन् ।
प्रकाशित मिति:
September 01, 2012