कात्तिक ५/ देशकै जेठो त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको नतिजासँगै मार्कसिटसमेत दिने तयारी गरेको छ । नतिजासँगै मार्कसिट पनि इन्टरनेटमै राख्ने विषयमा परीक्षा नियन्त्रण कार्यालय र त्रिविको पुल्चोक इन्जिनियरिङ क्याम्पसका आइटी विभागसँग सहमति भएको छ ।
समयमा नतिजा नआउने र नतिजा सार्वजनिक भएपछि पनि समयमै मार्कसिट नपाउँदा धेरै विद्यार्थीले दुःख पाएको गुनासोपछि त्रिविले नतिजासँगै प्राप्तांक राख्ने तयारी गरेको हो । पनिकाका परीक्षा सहनियन्त्रक रमेश जोशीका अनुसार स्नातक प्रथम वर्षको नतिजाबाट इन्टरनेटमै मार्कसिट राख्ने कार्यको सुरुवात गर्ने बताए । छिटो काम सुरु गर्ने योजनासहित सो कामका लागि रकम निकासा गर्न पनिका तयार रहे पनि पुल्चोकको आइटी विभागले रकम माग्न गएको छैन ।
इन्टरनेटमा नतिजा राख्न सफ्टवेर बनाउने काम भइरहेको छ । ठूलो संख्यामा परीक्षार्थी रहेको एसएलसी तथा उच्च माध्यमिक शिक्षा परिषद्ले प्राप्तांक इन्टरनेटमै राख्ने व्यवस्था गर्दासमेत त्रिवि पछि परेको थियो । समयमा मार्कसिट नपाउँदा अवसरहरू गुम्ने, टाढा-टाढाबाट समेत धेरै विद्यार्थीले दुःख पाउने गरेका छन् । नेटमा प्राप्तांक दिँदा विद्यार्थी र पनिका दुवैलाई सजिलो हुने पनिकाका अधिकारीको भनाइ छ ।
त्रिविले प्राप्तांक नेटमै राख्ने तयारी गरे पनि रजिस्ट्रेसनले समस्यामा पारेको छ । त्रिविमा प्रवेश गरेका विद्यार्थीले लामो समयसम्म पनि रजिस्ट्रेसन नम्बर नपाउँदा समस्या थपिएको हो । नयाँ संस्थामा प्रवेश गर्नेबित्तिकै रजिस्ट्रेसन नम्बर पाउनुपर्नेमा कतिपय विद्यार्थीले स्नातकतह उत्तीर्ण गरेर ट्रान्सकिप्ट लिने वेलासम्म पनि रजिस्ट्रेसन नम्बर नपाउँदा दुःख पाएका छन् । विद्यार्थीको सिम्बोल नम्बर, जन्म मिति र रजिस्ट्रेसन नम्बरका आधारमा प्राप्तांक राख्न सकिने नियन्त्रक कर्माचार्यको भनाइ छ । तत्काल सबैको रजिस्ट्रेसन नम्बर नभए पनि प्राप्तांक राख्न सक्ने पनिकाले जनाएको छ ।