असोज २६ – हवाइजहाजको टिकट नपाएका कारण जुनबेँसीमा डेढ महिनादेखि अवरुद्ध मोबाइल सेवा सञ्चालनमा ल्याउन सकिएको छैन ।
गत भदौ ९ गते परेको चट्याङबाट क्षति पुगेको जिएसम मोबाइलको टावर मर्मतका लागि काठमाडौँबाट प्राविधिक आउनका लागि हवाइजहाजको टिकट नपाएका कारण सेवा सञ्चालन गर्न नसकिएको नेपाल टेलिकम सोलुखुम्बुले जनाएको छ ।
उपकरण मर्मतका लागि केन्द्रीय कार्यालयबाट प्राविधिक खटाइएको भए पनि हवाइजहाजको टिकट नपाएका कारण आउन नसकेको टेलिकम सोलुखुम्बुका प्रमुख सुचित्रा जोशीले जानकारी दिए ।
यसअघि काठमाडौँ–फाप्लुका लागि दुईवटा हवाई टिकट लिएको भए पनि फाप्लुमा मौसम खराबीका कारण उडान नहुँदा रोकिएको र त्यसपछि टिकट लिनै नसकिएको जोशीले बताए ।
अहिले जुनबेला टिकट मिल्यो त्यही बेला आउने भनेर तयारीमा बसेको एक हप्ता भइसकेपछि टिकट पाउनै नसकेको उनको भनाई छ । उनले काठमाडौँबाट फाप्लुका लागि दुईवटा हवाई टिकट मिलाइदिन राजनीतिक दल तथा प्रशासनमा अनुरोधसमेत गरेका छन् ।
प्राविधिक आएमा एक दिनमै सेवा सुचार गर्न सक्ने भए पनि प्राविधिक आउन नसक्दा सेवा अवरुद्ध भइरहेको र यसबाट उपभोक्ता मारमा परेको जोशीले गुनासो गरे । जुनबेँसीवासीले पनि डेढ महिनादेखि अवरुद्ध मोबाइल सेवा सुचारु गर्नुपर्ने माग गरेका छन् ।
यता सदरमुकाममा पनि ब्याट्रीले राम्रो काम नगर्दा विद्युत् लोडसेडिङ भएको समयमा जिएसएम मोबाइल सेवा प्रभावित हुने गरेको छ । लोडसेडिङको समयभर ब्याट्रीले धान्न नसकेका कारण सेवा प्रभावित भएको र यसको समाधान चाँडै हुने प्रमुख जोशीले बताए । रासस