दशैंमा पनि दर्शक हलमा नपुग्दा निर्माता भने हिस्स
पछिल्लो समय नेपाली चलचित्र हेर्न दर्शक हलसम्म आउन निक्कै गाह्रो मानिरहेको अवस्थामा दशैं तिहारमा समेत त्यही चलन दोहोरिएपछि चाड पर्वमा पालो लगाउने निर्माताहरु हिस्स झै परेका छन् ।
कुनै पनि नेपाली चलचित्र प्रदर्शनका लागि दसैँ-तिहारको मौसमलाई राम्रो मान्ने गरिन्छ । यसरी दसैंको मौका पारेर चलचित्र निर्माताहरुले यसपटक चार चलचित्रहरु कार्तिक ३ गतेबाट प्रदर्शनमा ल्याए ।
दसैँ-तिहारको मौकामा सो सिम्पल, लूट कम्पनी, धुँवा यो नसा र के म तिम्रो साथी बन्न सक्छु प्रदर्शनमा आए । तर चलचित्र प्रदर्शनका लागि राम्रो मौसम मानिएको यो समयमा पनि दर्शकहरुको चाप हलमा नभएको हलवालाहरुको भनाई छ ।
हलवालाहरुका अनुसार दसैँमा प्रदर्शन भएका कुनै पनि चलचित्रले राम्रो ब्यापार गर्न सकेन । यस्तो समयमा पनि नेपाली चलचित्रले राम्रो ब्यापार गर्न नसक्दा चलचित्र कर्मी, निर्माता र हलवालाहरुबीच बहस चल्न थालेको छ ।
सो सिम्पलका निर्माता तथा कलाकार केशव भट्टराईसँग कुरा गर्दा उनले आफ्नो चलचित्रले केही हदसम्म राम्रो व्यापार गरेको बताए । उनले सो सिम्पललाई प्रदर्शनमा आएका अन्य चलचित्र भन्दा दर्शकले राम्रो प्रतिक्रिया दिएको डिसीनेपाललाई बताए ।
कार्तिक ३ गतेबाट राजधानीमा लूट कम्पनी र के म तिम्रो साथी बन्न सक्छु प्रदर्शनमा आएका थिए भने राजधानी बाहिर सो सिम्पल, के म तिम्रो साथि बन्न सक्छु र धुँवा यो नसा प्रदर्शन भएका थिए । अहिले सो सिम्पल राजधानीमा पनि प्रदर्शन भइरहेको छ । चलचित्र बितरक, निर्माता र हलवालाहरुका अनुसार अहिलेसम्मकै दसैँ मध्ये यसपालीको दसैँमा चलचित्रहरुले राम्रो ब्यापार गर्न सकेनन् ।
प्रकाशित मिति:
November 11, 2012