डिसीनेपाल डटकम संवाददाता – प्रधानमन्त्री डा बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रले कार्यकारी अधिकार हातमा लिँदा पतन भएको इतिहास ताजै भएको उल्लेख गर्दै राष्ट्रपति पनि कार्यकारी बन्न खोजे पुरानै इतिहास दोहोरिने चेतावनी दिएका छन् ।
बाहिर प्रचारमा आएजस्तो शीतलनिवास र बालुवाटारबीच कुनै तिक्तता र असमझदारी नरहेको उल्लेख गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
धौलागिरि अञ्चल अस्पतालको उद्घाटन कार्यक्रममा प्रतिपक्ष दलहरूलाई लक्षित गर्दै प्रधानमन्त्री डा भट्टराईले भने, “राष्ट्रपतिलाई कार्यकारी अधिकार प्रयोग गर्न कसैले उक्साउँदा समस्या उत्पन्न भएको हो ।”
राष्ट्रपतिसँग आफ्नो कुनै कटुता नभएको प्रष्ट पार्दै प्रधानमन्त्री भट्टराईले उनलाई कुनै पनि विवादमा नल्याई सम्मानपूर्वक राख्नुपर्ने बताए ।
राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयबीच जुन असमझदारी आएको छ, यो अन्तरिम संविधानमा रहेका जटिलताका कारणले आएको कुरा हो उनको भनाई छ अब संविधानसभाको अवसानपछि चुनावबाहेक अर्को विकल्प छैन ।