मंसिर १३– प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बागलुङमा विपक्षी दलका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।
धौलागिरि अञ्चल अस्पताल बागलुङको नवनिर्मित भवन उद्घाटनका लागि बागलुङ पुगेका प्रधानमन्त्री भट्टराईलाई विपक्षी दलसँग सम्बद्ध विद्यार्थी सङ्गठनले कालो झण्डा देखाएर विरोध जनाएको हो ।
अस्पतालको भवन उद्घाटन सकेर कार्यालय प्रमुखहरूलाई निर्देशन दिन बालमन्दिर सभाहल जाँदै गर्दा प्रधानमन्त्रीलाई नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका कार्यकर्ताले कालोझण्डा देखाएका थिए ।
प्रधानमन्त्रीलाई कालोझण्डा देखाएपछि प्रहरीले उनीहरूमाथि लाठी प्रहार गरेको थियो ।
प्रहरीको लाठी प्रहारबाट नेविसङ्घका जिल्ला अध्यक्ष हरिहर शर्मा, अनेरास्ववियुका जिल्ला अध्यक्ष नारायण पौडेल, अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष रिम रोका, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पदम खत्री, नेविसङ्घका जोगलाल बुढा, पूर्ण आचार्य, बालकृष्ण शर्मालगायत घाइते भएको बताइएको छ ।