मोटरसाइकल चोर्ने गिरोह प्रहरी फन्दामा
मङ्सिर ३ – रौतहट जिल्लामा मोटरसाइकल चोरी गर्ने एक गिरोहलाई आज प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा राजपुर भेडियाही गाविस–१ का प्रदीपप्रसाद यादव, डुमरिया मठिऔन गाविस–२ का पुजन सत्याल, गेडही गुठी गाविस–२ का राकेशप्रसाद यादव, सोही गाविस–८ का प्रभुनन्द सहनी र फत्तेपुर बगही गाविस–३ का सञ्जय जैसवाल रहेका छन् ।
गत कात्तिक ३० गते मोटरसाइकल चोरीको आरोपमा समातिएका प्रदीपप्रसाद यादवको बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
गौर नगरपालिका बस्ने अनिल गिरीको भारतीय नम्बर प्लेटको होन्डा साइन मोटरसाइकल चोरी गरेर नेपाली नम्बर प्लेट लगाई चढिरहेको अवस्थामा पुजन सत्याललाई उनकै गाउँबाट शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
November 18, 2012