पुस ८ – संयुक्त मधेसी मोर्चाले वर्तमान प्रधानमन्त्री डा बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने निर्णय गरेको छ ।
सानेपास्थित मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) को कार्यालयमा शनिबार बसेको मोर्चाको बैठकले वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा सहमतीय सरकारका लागि पहल गर्ने र त्यो मान्य नठहरिए अन्य विकल्पमा जाने निर्णय गरेको राससले उल्लेख गरेको छ ।
बैठकले भरसक अहिलेकै प्रधानमन्त्रीको नेतृत्वमा सहमतिको प्रयास थाल्ने, त्यो नभए सत्तारुढ गठबन्धनबाटै विकल्प खोज्ने र दुवैमा सहमति नभए अन्य विकल्पमा जान सक्ने निर्णय गरेको फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले जानकारी दिएका छन् ।
उनका अनुसार बैठकले गत संविधानसभा मातहतको राज्य पुनःसंरचना आयोगले प्रस्तुत गरेको १४ प्रदेशको खाकालाई नै आगामी संविधानसभामा लैजाने तथा अब गठन हुने संविधानसभाको कार्यावधि पाँच वर्षको बनाउने निर्णय गरेको छ ।
मोर्चाले जुनसुकै व्यक्ति प्रधानमन्त्री बनेपनि तोकिएकै समयमा संविधानसभाको निर्वाचन गराउन नसके उसले पद त्याग्नुपर्ने प्रस्ताव पनि अघि सारेको छ ।
यस्तै संविधानसभा निर्वाचनका लागि २४० निर्वाचन क्षेत्र कायम गर्नुपर्ने र समानुपातिकको हकमा सहमतिको आधारमा निर्णय लिनुपर्ने मोर्चाको प्रस्ताव छ ।
त्यसैगरी विस २०६४ को संविधानसभा निर्वाचनमा मतदानमा भाग लिएका मतदातालाई निरन्तरता दिइनुपर्ने र बाँकी उमेर पुगेकालाई पनि सहभागी गराइनुपर्ने मोर्चाले निर्णय गरेको छ । बैठकमा मोर्चा आबद्ध सबै दलका प्रमुख नेताहरू सहभागी थिए ।
