मङ्सिर २० – सरकारले आगामी पुस १ गतेदेखि लागू हुने गरी स्थानीय शिविर व्यवस्थापन कार्यालय र माघ १ गतेबाट लागू हुने गरी शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय खारेज गरेको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले माओवादी सेनाका लडाकुहरूको व्यवस्थापनको काम गर्दै आएको शिविर व्यवस्थापन कार्यालयहरूलाई खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले जानकारी दिनुभयो ।
सरकारले शिक्षक सेवा आयोग नियमावली पनि संशोधन गरेको छ । सो ऐनको संशोधनपछि लामो समयदेखि खुल्न नसकेको शिक्षक सेवा आयोग खुल्ने बाटो खुलेको छ ।
यसैगरी मन्त्रिपरिषद्ले संयुक्त राज्यबाट बहुपक्षीय ऋण मिनाहा पहल कार्यक्रमका लागि रु ५० करोड २१ लाख अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ भने डेनमार्क सरकारबाट राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमका लागि रु तीन अर्ब १२ करोड अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता यादवले जानकारी दिनुभयो ।
यसैगरी, मन्त्रिपरिषद्ले अमेरिकाको क्यालिफोर्निया राज्यको सान्डियागो सहरका लागि गुणाखर बस्याल, संयुक्त अधिराज्यको स्कटल्यान्डको गलास्को सहरका लागि सुनिता पोदार र सुडानको खार्तुमका लागि अब्बास अल्वा शियामोसालाई अवैतनिक नेपाली वाणिज्यदूत नियुक्ति गरेको छ ।
यसैगरी रेडियो प्रचार सेवा विकास समितिका कार्यकारी निर्देशक तपनाथ शुक्लले दिनुभएको राजीनामा स्वीकृत गरी सुरेशबहादुर कार्कीलाई नियुक्त गरिएको छ भने लुम्बिनी विकास कोषको सदस्य–सचिव पदमा अजितमान तामाङलाई नियुक्त गरिएको छ ।
त्यस्तै जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको अध्यक्ष हरिहर सिग्देलले दिनुभएको राजीनामा स्वीकृत गरी तत्कालका लागि वन तथा भू–संरक्षण मन्त्रालयका सहसचिव कृष्णप्रसाद आचार्यलाई नियुक्ति गरिएको छ ।
मन्त्री यादवले दिनुभएको जानकारीअनुसार नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा र सदस्य पदमा हेमराज ज्ञवालीलाई नियुक्त गरिएको छ ।
यसैगरी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा रामेश्वरराय यादवलाई नियुक्त गरिएको छ भने बिमा समितिको अध्यक्ष पदमा प्राडा भक्तबहादुर केसीलाई पुनः चार वर्षका लागि नियुक्त गरिएको छ ।
यस्तै सुदूरपश्चिम विकास आयोगको अध्यक्षमा जगदीश पाल तथा सदस्यमा तेजबहादुर शाह र टङ्क गुरुङलाई नियुक्त गरेको छ भने कर्णाली विकास आयोगको अध्यक्षमा कुलबहादुर रोकाया तथा सदस्यमा दीपक बुढा र डिल्लीबहादुर सिंहलाई नियुक्त गरिएको छ ।
शिक्षक सेवा आयोगको सदस्य पदमा खोटाङका शिक्षक सीताराम पोखरेललाई नियुक्त गरिएको सरकारका प्रवक्ता मन्त्री यादवले जानकारी दिए ।
यसैगरी काठमाडौँ उपत्यकाभित्रका नगरपालिका तथा नगरोन्मुख गाउँ विकास समितिहरूमा निर्माणसम्बन्धी मापदण्ड २०६४ लाई संशोधन गरिएको छ ।