पुस ५ – राष्ट्रिय दैनिक ‘नागरिक’ पत्रिकाको कार्यालय, चाइना टाउनको परिसरमा बिहीबार बिहान ११ः३० बजे आफूलाई शिवसेना नेपाल बताउने एक समूहले आक्रामक शैलीमा प्रस्तुत भई प्रधान सम्पादकलगायत पत्रकारमाथि हातपात गरेका छन् ।
करिब ४०–४५ जनाको समूहमा आएका ती व्यक्तिले कार्यालयमा रिपोर्टिङसम्बन्धी बैठक बसिरहेको समयमा किन समाचार लेखेको भन्दै प्रधानसम्पादक किशोर नेपाल, पत्रकारहरू सुदर्शन सापकोटा, स्वरूप आचार्य, सविना श्रेष्ठ र आफूलाई लछारपछार र धक्कमधक्का गरी दुव्र्यवहार गरेको सहसम्पादक राजेन्द्र ज्ञवालीले बताए ।
कार्यालयमा होहल्ला गरिरहेकै अवस्थामा आधा घन्टापछि प्रहरी आई तीमध्येका करिब १८ जनालाई पक्राउ गरेको ज्ञवालीले उल्लेख गरेको राससले उल्लेख गरेको छ ।
कुन समाचारमा आपत्ति रहेको हो भनी पटकपटक प्रश्न गर्दा पनि उनीहरूले स्पष्ट कुरा नराखेको, समाचार लेख्ने व्यक्ति कुन हो भनी होहल्ला मात्र गरिरहेकाले वार्तामा समेत आउन नचाहेको ज्ञवालीको भनाई छ ।
