काठमाडौँ, पुस २८ – नेकपा मओवादी दैलेखले पत्रकार डेकेन्द्र हत्या प्रकरणको विषय सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुंग्याउन आग्रह गरेको छ ।
राजधानीको प्रज्ञा भवनमा आज पत्रकार सम्मेलनको आयोजना गरेर माओवादी दैलेखले सरकारले द्वन्द्वका घटनालाई १२ बुँदे शान्ति सम्झौता विपरित उठाएर पुनः द्वन्दको सुरुवात गरेको ठहर समेत गरेको छ । उसले यस विषयलाई राजनीतिक तवरबाट तत्काल समाधान गर्नुपर्ने पनि बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी दैलेख सेक्रेटरी गंगबहादुर घर्तीले द्वन्दकालमा दुवै पक्षबाट भएका यसप्रकारका घटनाहरु कोट्याउँदै जाने कुराले समस्या समाधान भन्दा पनि झनै जटिलता थपिने बताए ।
गिरफ्तारी पछि आफ्नो पार्टीको तर्फबाट कुनै प्रकारको दबाब नदिएको बताउँदै सेक्रेटरी घर्तीले पक्राउ परेका आफ्ना कार्यकर्तालाई तत्काल रिहाई गर्न माग समेत गरे ।
जिल्लामा बिनापूर्जी माओवादी कार्यकर्तालाई धरपकड गर्ने तथा घर घेरा हाली आतंक सिर्जना गर्ने काम भईरहेको भन्दै यसले शान्ति सम्झौता भंग गरेको मात्र नभई द्वन्द्वको सुरुवात गरेको स्पष्ट भएको पनि उनले बताए ।
द्वन्द्वकालमा पत्रकार डेकेन्द्रका हत्या सही थियो की दुःखद् भन्ने पत्रकारहरुको प्रश्नमा उनले सो घटना मात्रै नभएर दुवै पक्षबाट भएका सयौँ हजारौँ घटनाहरु दुःखद भएको प्रतिक्रिया दिए ।
