फागुन २० - नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लबले आफ्नो पार्टीले बहालबाला प्रधानन्यायधिश खिलाराज रेग्मीलाई कुनै पनि हालतमा प्रधानमन्त्री स्वीकार नगर्ने बताएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघ कास्कीले आईतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
प्रधान्याधिश प्रधानमन्त्री बनाउने निर्णय नाजायज, अस्वभाविक र पर नियन्त्रित भएको उनको आरोप छ । उनले भने– ‘खिलाराज प्रधानमन्त्री भएको दिन हामी नेपाल बन्द गछौ ।’
नेकपा–माओवादीले सधै युद्ध चाहन्छ भनी प्रचार गरिएको भन्दै उनले थपे–‘हामी लड्ने नै हो ।’ राज्यका सबै निकायमा आफुहरुको सहभागिता नगराए र आत्म समर्पण गराउन खोजे युद्ध अबश्यम्भावी भएको उनको स्पस्टोक्ति थियो ।
नेपाली कांग्रेस र एमालेले पनि प्रधानन्यायधिश प्रधानमन्त्री बनाउने विषयमा आत्म समर्पण गरेको उनले आरोप लगाए । जनताको चाहना नभएको र कानुनी राज्यको खिलाफ भएकाले पनि प्रधान्याधिश प्रधानमन्त्री हुन नहुने उनले तर्क गरे ।
राजनीतिक दलहरुबाटै समस्या नेतृत्व खोज्नु पर्नेमा उनले जोड दिए । उनले भने–‘सर्वपक्षिय गोलमेच सम्मेलन र राष्ट्रिय सहमति नै समस्याको उचित समाधान हो ।’
एमाओवादी र नेकपा–माओवादीको सम्पत्ति विवादको विषयमा सोधिएको जिज्ञाशामा नेता विप्लबले सम्पत्तिको लागि मरिहत्ते नहाल्ने बताए । उनले भने–‘खोरिया खनेर खाने सहास छ, पेरिस डाडाका लागि रुने कुरा हुँदैन ।’
तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविचमा भएको विस्तृत शान्ति सम्झौता पूर्ण रुपमा कार्यान्वयन भए देश अगाडि बढ्ने उनले बताए ।
कार्यक्रममा नेता विप्लबले चुनावमा भाग लिने वा नलिने र विद्रोहको स्वरुप शसस्त्र वा निशस्त्र हुने भन्ने कुरा राज्य सञ्चालकको रणनीति र परिस्थितिमा निर्भर हुने उनले बताए ।
एमाओवादीले क्रान्तिकारी भूमिसुधार, जनवादी माग र क्रान्तिको बाटो परित्याग गरेकोले नयाँ पार्टी निर्माण गरेको उनको दाबी थियो । उनले क्रान्तिकारी कार्यदिशा स्विकार गरे भोलि एकता हुने बताए ।
नेकपा–माओवादी कास्कीले आज नै शहिद सप्ताहको अवसरमा माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’का सहीद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ ।