बैशाख ७ - नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले चार राजनीतिक शक्तिले गरेका गलत कामलाई सहीछाप गर्नका लागि आफूहरु वार्तामा नजाने बताएका छन् ।
ऐरावती प्रकाशनद्वारा प्रकाशित पत्रकार माधव निर्दाेषद्वारा लिखित ‘रेडियो जक्की’ पुस्तकको आज यहाँ लोकार्पण गर्दै अध्यक्ष वैद्यले सामान्यताः आफूहरु वार्ताको विरोधी नभएपनि सबै दलको सहमतिविना प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने सहमति खारेज नभएसम्म वार्तामा बस्नुको अर्थ नरहेको धारणा राखे ।
उनले आफूलाई लोकतन्त्रवादी भन्ने दलहरुले नै जानी नजानी लोकतन्त्रलाई समाप्त गर्ने गरी सहमति गरेको आरोप लगाए ।
“ चार दलको अधिनायकवादलाई समर्थन गरेर यो सरकारले बोलाएको वार्तामा हामी जाँदैनौ । यदि समस्या समाधान गर्ने तयारीका साथ वार्तामा बोलाइन्छ भने मात्रै वार्तामा जाने कुरा हुन्छ ।”– अध्यक्ष वैद्यले भने ।
उनले अहिलेको अवस्थामा निर्वाचन भएपनि जनताको संविधान बन्ने निश्चित नभएकाले निकासका लागि सर्वपक्षीय सम्मेलनको माग गरे ।
कार्यक्रममा मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चार राजनीतिक दलले सम्पूर्ण जनताको अभिमत आफूसँग छ भन्ने भ्रम सिर्जना गर्दै मनोमानी निर्णय गरेको आरोप लगाए ।
उनले आफूहरु समस्या समाधानका लागि वार्तामा बस्न तयार रहेको भन्दै आजका लागि सरकारले बोलाएको वार्ता भोलि हुने स्पष्ट गरे ।
Powered by Blogger.
सरकार र चार दललाई वैद्यले यस्तो दिए जवाफ
प्रकाशित मिति:
April 20, 2013