बैशाख १३, रासस । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आफूले नेपालमा एमाले पार्टी छैन भनेर नभनेको दाबी गरेका छन् ।
सल्यानको वाफुखोलामा बिहीबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमालेले काँग्रेससँग मिलेर चुनावमा गएपछि कम्युनिष्ट सिद्धान्त नरहने मात्र भनेको स्पष्ट पारे ।
“मैले त एमालेले काँग्रेससँग मिलेर चुनाव लडेमा सिद्धान्ततः एमाले कम्युनिष्ट रहने छैन भनेको हो, मेरो भनाइको आशय एमाले नै छैन भन्ने हैन,” उनले भने ।
उनले आफूले नभनेको कुरालाई सञ्चार माध्यमहरूले गलत प्रचारप्रसार गरेको आरोपसमेत लगाए ।
अध्यक्ष प्रचण्डले आसन्न भारत भ्रमणको क्रममा नेपालको आर्थिक विकासका लागि कुरा उठाउने भन्दै भारतले सहयोग नगरेमा उसको सुरक्षा चिन्तामा सहयोग गर्न नसकिने बताए ।
सल्यान, रुकुम र रोल्पामा वार्षिक हजारौँ क्विन्टल आलु उत्पादन हुने भएकाले आफूले सल्यानको वाफुखोलामा आलु अनुसन्धान केन्द्र स्थापनाका लागि पहल गर्ने आश्वासन दिए ।
कार्यक्रममा सो पार्टीका नेता जनार्दन शर्माले महाधिवेशनको कार्यनीति जनतासामु पुगेमा पार्टीप्रतिको भ्रम चिरिने दाबी गरे ।
जनयुद्धका बेलामा सल्यान, रुकुम र रोल्पाको महत्वपूर्ण भूमिका रहेको भए पनि पार्टीको शान्तिप्रक्रियापछि यस क्षेत्रमा ध्यान पुग्न नसकेको स्वीकार गरे ।
Powered by Blogger.
भारतले सहयोग नगरे उसको सुरक्षा चिन्तामा नेपालले सघाउँदैन : प्रचण्ड
प्रकाशित मिति:
April 26, 2013