चैत २६ – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले चार दलको हालीमुहाली र तानाशाहीपनको खारेज गर्न आफुहरु आन्दोलनमा रहेकोले प्रत्येक देशभक्तहरुले साथ दिनुपर्ने बताएका छन् ।
राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा उनले पछिल्लो घटनाक्रमले बन्दुक संवैधानिक बन्दै गएको उल्लेख गरे ।
रेडियो मिर्मिरेको छैटौं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले भने- ‘जसको हातमा बन्दुक छ, त्यसको हातमा संविधान हुने हुँदो रहेछ । सोको विकल्प खोज्न सुरु गर्नुहोस् ।’
कार्यक्रममा उनले चार राजनीतिक दलका चार नेता नेपालका नयाँ सम्राट हुन खोजेकाले समस्या थपिएको पनि बताए ।
उनले चार राजनीतिक दल संवैधानिक हैसियत नभएकाले उसले बोलाएको वार्तामा नजाने बरु उनीहरुसँग छुट्टाछट्टै राजनीतिक दलका हैसियतले वार्ता गर्न सक्ने उल्लेख गरे ।
‘चार दलको आहन अस्वीकार्य छ, हाम्रो आन्दोलन अगाडि बढेको छ’ भन्दै उनले अगाडि भने, ‘संसदवाद नेपालमा असफल भई सकेको छ, उनीहरुले दलीय ब्यवस्था खत्तम पारेका छन् ।’
यस्तै संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले नेकपा एमाले र नेपाली कांग्रेस यथास्थितिवादी पार्टी भएको बताए । ‘कम्युनिष्टहरु परिवर्तनशील भएपनि नेपालको एमाले यथास्थितिवादी नै हो’ उनले अगाडि भने, ‘यिनै यथास्थितिवादीहरुको स्वच्छाचारी अनुसार संवैधानिक उल्लंघन भएको छ ।’
एमाओवादीले परिवर्तनका लागि लडेको सेना नै विघठन गरेर गद्धारी गरेको बताउँदै महासचिव श्रेष्ठले संविधानसभाका बारेमा भने, ‘संविधानसभामा साना समुदायको प्रतिनिधित्व हुनबाट रोकेका छन् ।’
उनले नेपालको न्यायलय प्रतिगामी चरित्र भएको बताउँदै चार दलका चार नेता असंवैधानिक काम गरेकोमा आपत्ति जनाउँदै यो सर्वसत्तावाद तोड्न संविधानसभाको पुनःस्थापना वा गोलमेचबाट माओवादीका रामबहादुर थापाको नेतृत्वमा सरकार गठन गर्न सकिने विकल्प भएको बताए ।
यसैगरि कर्णाली जलाधार संरक्षण समाजका अध्यक्ष लोकबहादुर रावलले शुभकामना दिदै रेडियो मिर्मिरेले स्थापनाकालदेखि नै संघर्षशील यात्रा पार गर्दै आएको उल्लेख गरे । कर्णाली नदीलाई बेचिनबाट जोगाउन कर्णालीका जनताको संघर्षलाई मिर्मिरेले साथ दिनेछ भन्ने विश्वास लिएको बताए । भारतिय विस्तारवादले आफ्ना मुद्धालाई आफ्ना दलालबाट कार्यन्वयन गराउन चाहने दावी गर्दै भन्नुभयो, ‘आगामी दिनमा पनि यस रेडियोले जनपक्षिय काम गर्नेछ ।’
मानवअधिकारवादी नेता गोपाल सिवाकोटी ‘चिन्तन’ले चैत्र १ गते राष्ट्रपतिले चालेको असंवैधानिक कदम चालेको बताए । संविधानसभा व्यवस्थापिका नरहेको अवस्थामा को ठूलो भन्ने मापदण्ड बनाउने नभएको भन्दै उनले भने, ‘अहिले सबै पार्टीको बराबरीको हैसियात छ ।’ आफैले आफुलाई ठुलो पार्टी भन्ने जस्तो गैर जिम्मेवार काम भईरहेको पनि बताए ।
अधिवक्ता एकराज भण्डारीले सरकार भएपनि गैरसंवैधानिक भएको उल्लेख गरे । उनले संविधानकै संरक्षक राष्ट्राध्यक्षले गैरसंवैधानिक कदम चालेको दावी गर्दै भने, ‘अब अर्को आन्दोलन बाहेक अरु भ्रम हो ।’ उनको विचारमा अहिलेको निकास रेग्मी सरकारको राजीनामा हो । यसलाई फाल्न पछि वैधानिकता पाउने गरी आन्दोलनमा जानुको विकल्प छैन ।
काहुराष्ट्र नेपालका अध्यक्ष विष्णुपुकार श्रेष्ठले मिर्मिरेलाई शुभकामना दिदै आगामी दिनमा अझ जुझारु र संघर्षमय बाटोमा हिड्न नडराउन आग्रह गरे ।
यस्तै सोही कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य दीपक पाण्डे, क्रान्तिकारी पत्रकार महासंघका संयोजक कुमार शाहलगायतले शुभकामना व्यक्त गरे ।
Powered by Blogger.
चार दलको हालीमुहाली र तानाशाहीपनको खारेज गर्न आन्दोलन : वैद्य
प्रकाशित मिति:
April 08, 2013