राजेन्द्र फुयाल -राष्ट्रपति रामवरण यादवका राजनीतिक सल्लाहकार हरि शर्माले अख्तियार प्रमुखमा शाहीकालीन मुख्यसचिव लोकमानसिंह कार्कीको नियुक्ति प्रकरणमा असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन् । अर्का दुई सल्लाहकार राजेन्द्र दाहाल र सूर्य ढुंगेल पनि त्यही प्रकरणमा असन्तुष्ट भई राजीनामा दिने समय कुरिरहेको बुझिएको छ ।
स्रोतका अनुसार तीनैजनाले एकैचोटि राजीनामा दिँदा राष्ट्रपतीय पद्धति र गरिमामा धक्का पुग्ने निष्कर्ष निकाल्दै परिस्थिति सामान्य हुँदै गएपछि राजीनामा दिने मनस्थिति बनाएका हुन् ।
राजीनामा बुझाएलगत्तै शर्मा मुलुकबाहिर गएकाले उनीसँग सम्पर्क हुन सकेन । शर्मा प्रजातन्त्र पुनस्र्थापनालगत्तै निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका राजनीतिक सल्लाहकार थिए । राजनीतिशास्त्रमा पिएचडी शर्मा प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद् अध्यक्ष बनाउने निर्णयसँग सन्तुष्ट थिएनन् । यो निर्णय शक्ति पृथकीकरण सिद्धान्तविपरीत हुने र यसले मुलुकलाई अहित गर्ने सुझाव दिएका थिए । अख्तियारमा लोकमानको नियुक्ति गरिँदा संविधानका संरक्षक राष्ट्रपतिको पदीय मर्यादाविपरीत हुने सुझाव उनले दिएका थिए ।
राष्ट्रपति यादव सुरुमा कार्कीको सिफारिस विपक्षमा रहे पनि अस्वाभाविक र असहज तवरमा एकाएक सिफारिस अनुमोदन गर्न पुगेपछि सल्लाहकारहरु बढी सशंकित भएका हुन् ।
संवैधानिक निकायमा नियुक्तिको योग्यतामा उच्च नैतिक आचरण कायम भएको हुनुपर्ने स्पष्ट संवैधानिक व्यवस्थाविपरीत सिफारिस फिर्ता पठाउने पक्षमा शर्मासहितका सल्लाहकारहरुको एकमत थियो ।
त्यसअतिरिक्त संवैधानिक परिषद्सम्बन्धी कानुनमा सामाजिक प्रतिष्ठा प्राप्त भएको, इमानदार, जनभावना अनुकूल व्यक्तिमात्रै नियुक्त गर्नमिल्ने कानुनी प्रावधान देखाउँदै फिर्ता गर्न सकिने प्रशस्त आधार पनि सल्लाहकारहरुले देखाएका थिए । तर, बाह्य शक्तिको प्रभाव र राजनीतिक बिचौलियाहरुको चलखेलका कारण रातारात शीतलनिवासको निर्णय फेरियो । कार्कीको नियुक्तिविरुद्ध उभिएका सल्लाहकारहरुलाई यतिखेर नैतिकताका कारण पदमा बसिरहन अप्ठ्यारो परेको छ ।
कार्कीको नाम फिर्ता पठाउन प्रयोग गरिने भाषामा समेत आफूहरुले गृहकार्य गरिसकेपछि मध्यरातमा एकाएक कार्कीको नियुक्ति सदर गर्ने निर्णयप्रति उनीहरु रुष्ट छन् । मध्यरातमा भएको निर्णयअनुसार कार्कीको भोलिपल्टको कार्यालय समयसमेत सुरु नहुँदै सपथ गराइएपछि सल्लाहकारले आफूहरु पदमा बस्नुको औचित्य नभएको निष्कर्ष निकालेका हुन् ।
कानुनी सल्लाहकार ढुंगेल र प्रेस सल्लाहकार दाहाल पनि पद त्यागकै पक्षमा छन् । तर, उनीहरुले राष्ट्रपतिलाई असहयोग गरेको सन्देश जाने गरी एकैपटक राजीनामा नगर्ने र पद त्यागपहिले कुनै पनि टिप्पणी नगर्ने नीति लिएका छन् ।
‘चार वर्ष पदमा बसेपछि पहिले नै राजीनामा घोषणा हुने कुरा भएन,’ स्रोतले भन्यो, ‘राष्ट्रपतिकै सजिलोका लागि पनि उहाँहरुले राजीनामा दिने मनस्थिति बनाउनुभएको हो ।’
यसअघि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई पदमुक्त गरी कामचलाउ घोषणा गर्ने र पछि नयाँ सरकार गठनका लागि दलहरुलाई मिति तोकेर आह्वान गर्ने निर्णयमा पनि राष्ट्रति यादव र सल्लाहकार समूहबीच दूरी बढेको थियो ।
कार्कीलाई नियुक्त गर्ने मध्यरातको निर्णय कतिपय सल्लाहकारहरुले भोलिपल्ट बिहान निकै अबेर थाहा पाएका थिए ।
शीतलनिवास स्रोतका अनुसार पछिल्लो समयमा सल्लाहकारहरु नियमित कार्यालयसमेत जान छाडेका छन् । शर्माको राजीनामाबारे राखिएको जिज्ञासामा प्रेस सल्लाहकार दाहालले आफू राजधानीबाहिर रहेको र त्यससम्बन्धमा जानकारी नभएको बताए । ‘मैले तत्काल राजीनामा दिने निर्णय गरेको छैन,’ दाहालले भने । - साभारः कान्तिपुर
Powered by Blogger.
लोकमान प्रकरणले एक्लिदै राष्ट्रपति एक सल्लाहकारद्धारा राजीनामा, प्रेस र कानुनी सल्लाहकार पनि छाड्ने तरखरमा
प्रकाशित मिति:
May 13, 2013