नेपाली महले बिरामीको हल्ला चलेपछि कोरियामा बिक्री हुन छाड्यो
जेठ ९ । अन्तर्राष्ट्रिय बजारमा राम्रो व्यापारिक सम्भावना भए पनि म्याग्दीमा उत्पादित भीरमह विदेशमा निर्यात हुन छाडेको छ ।
म्याग्दीको पश्चिमी क्षेत्र गुर्जामा उत्पादन हुने भीरमह यसअघि दक्षिण कोरिया र अस्ट्रेलियामा निर्यात हुँदै आएको थियो । पाँचवर्षयता अन्तर्राष्ट्रिय बजारमा मह निर्यात गर्न नसकिएको गुर्जाका मह व्यापारी झकबहादुर छन्त्यालले बताए ।
कोरियामा नेपाली महको उपयोग गरेका व्यक्ति बिरामी भएको हल्ला फैलिएपछि विदेशमा म्याग्दीको महले पनि बजार पाउन छाडेको र सरकारले पनि प्रतिबन्ध लगाएकाले समस्या भएको छन्त्यालले बताए ।
एकै मौसममा दुई हजार लिटरसम्म मह निर्यात हुँदा गाउँमा लाखौँ रुपैयाँ भित्रिने गरेको थियो । स्थानीयवासीले भीरमहको गुणस्तर परीक्षण गरी खान योग्य महलाई मात्र विदेशी बजारमा निर्यातको व्यवस्था मिलाउन माग गरेका छन् ।
“विदेशमा मह निर्यात हुन नसकेपनि आन्तरिक बजार राम्रो छ” व्यवसायी छन्त्यालले भने “अन्तर्राष्ट्रिय बजारमा मह निर्यात गर्न सकेमा धेरै आम्दानी गर्न सकिन्छ ।” जिल्ला वन कार्यालयले प्रतिकिलो रु १० राजस्व तिरेर मह निकासी हुने गरेको राससले उल्लेख गरेको छ ।
म्याग्दीको गुर्जाका साथै लुलाङ, मुदी, कुईनेमङ्गले र चिमखोला गाविसमा भीरमहको सिकार हुने गरेको छ । यस क्षेत्रमा वार्षिक करिव छ हजार लिटर भीरमह उत्पादन हुने गरेको बताइएको छ ।
प्रतिलिटर रु ५०० देखि एक हजारका दरले भीरमह बिक्री हुने गरेको कुईनेमङ्गलेका मह सिकारी (हनी हन्टर) टेकबहादुर घर्तीले बताए ।
प्रकाशित मिति:
May 22, 2013