जेष्ठ २९ - नेपाल विद्युत् प्राधिकरणले त्रिशूली ३ 'ए' को क्षमता विस्तारको निर्णय फिर्ता लिएको छ ।
प्राधिकरण सञ्चालक समितिको बैठकले त्रिशूली ३ 'ए' को क्षमता वृद्धि गरी ९० मेगावाट बनाएर चिनियाँ कम्पनीलाई निर्माण ठेक्का दिने निर्णय फिर्ता गरेको कार्यकारी निर्देशक रामेश्वर यादवले जानकारी दिए । यादवले विभिन्न चार वटा ट्रेड युनियनलाई निर्णय फिर्ता लिएको जानकारी गराए पनि उनीहरुले लिखित माइन्युट मागेका छन् ।
ट्रेड युनियनका प्रतिनिधिसँगको छलफलअघि प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । सञ्चालक समिति अध्यक्ष ऊर्जामन्त्री उमाकान्त झा छन् ।
नेपाल विद्युत् प्राधिकरणको स्वामित्व भएको यो आयोजनालाई बिनाप्रतिस्पर्धा ६० मेगावाटबाट ९० मेगावाट बनाउन काम अगाडि बढाइएको थियो । आयोजनाका सम्पूर्ण काम दुई वर्ष अगाडि चिनियाँ ठेकेदार कम्पनी चाइना गेजहुवा ग्रुपले पाएको थियो ।
प्राधिकरणका अध्यक्ष ऊर्जामन्त्री झाको प्रस्तावमा निर्णय फिर्ता लिएको सञ्चालक समिति सदस्य लक्ष्मण अग्रवालले जानकारी दिए । 'थप दबाब रोक्न निर्णय फिर्ता लियौँ,' उनले भने ।
बिनाप्रतिस्पर्धा क्षमता वृद्धि गर्दा आर्थिक 'चलखेल' भएको भन्दै तीब्र विरोध भएको थियो । सार्वजनिक खरिद ऐनमा बिना प्रतिस्पर्धा १० प्रतिशतमात्र घटबढ गर्न सकिन्छ । तर यस आयोजनामा ५० प्रतिशत काम बिनाप्रतिस्पर्धा दिइएको थियो ।
क्षमता वृद्धिको विरोधमा कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए भने कांग्रेस, एमालेलगायत दलका पूर्व अर्थ तथा ऊर्जामन्त्रीहरुले निर्णय फिर्ताको माग गर्दै राष्ट्रपति, मन्त्रिपरिषद् अध्यक्षलाई गुहारेका थिए । युवा संघ, नेविसंघलगायत पनि विरोधमा थिए ।
कर्मचारीहरुले मन्त्री निवासमा ब्ल्याक आउट गरेका छन् भने मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको निवासमा बिजुली बन्द गरिदिने चेतावनी दिएका थिए ।
त्रिशूली थ्री 'ए'मा गर्न लागिएको क्षमता विस्तारविरुद्ध अधिवक्ता डिलहरि शर्माले सर्वोच्च अदालतमा सोमबार रिटसमेत दर्ता गरेका छन्।
परियोजनाविरुद्ध यसअघि नै सर्वोच्चमा दायर रिट विचाराधीन हुँदाहुँदै मन्त्रिपरिषद्को स्वीकृतिमा प्राधिकरणले विस्तार गर्ने निर्णय गर्नु गैरकानुनी भन्दै खारेज गर्नुपर्ने रिटको माग छ । - Ekantipur.com
Powered by Blogger.
अन्ततः त्रिशूली ३ एको क्षमता विस्तार फिर्ता
प्रकाशित मिति:
June 12, 2013