खोटाङमा चोरीका पाँच वटा मोटरसाइकल प्रहरीद्वारा बरामद
असार ८ । जिल्ला प्रहरी कार्यालय खोटाङले चोरीका पाँच वटा मोटरसाइकल बरामद गरेको छ । चोरेर जिल्ला भित्र्याइएका मोटरसाइकल सञ्चालन भइरहेको थाहा पाएपछि ट्राफिक प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालयले बरामद गरेको हो ।
जिल्लाका विभिन्न ठाउँमा चेकजाँचका क्रममा को१२प ८०३३, को९प २३७९, बा१९प ९३२५, बा४५प २१५७ र ना११प ६५९७ नम्बरका मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले जानकारी दिए । बरामद गरिएका मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
ती मोटरसाइकलको बिल बुक, सवारी अनुमतिपत्रलगायत आवश्यक कागजात नभएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए । जिल्लाका विभिन्न चेकपोष्टबाट बरामद गरिएको मोटरसाइकल केही समयपछि भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।
जिल्लामा सञ्चालित अन्य मोटरसाइकलसमेत अवैध रुपमा जिल्ला भित्रिएको आशङ्कामा यसको नियन्त्रणका लागि चेकजाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति:
June 22, 2013