भारतमा मनसुनका कारण एक हजारको मृत्यु भएको आशङ्का, सेना परिचालन
असार ६ । भारतीय सैनिक बिहीबार मुलुकको उत्तरी भागमा बाढी तथा पहिरोका कारण पहुँचविहीन बनेका गाउँहरूमा पुग्न प्रयास गरिरहेका छन् भने अधिकारीहले कम्तीमा एक हजार व्यक्तिको मृत्युभएको आशङ्का गरिएको छ ।
हिमाली राज्य उत्तराखण्डमा निरन्तर मनसुन वर्षाका कारण आएका बाढीबाट अलपत्र परेका पर्यटक तथा तीर्थयात्रीको उद्धारका लागि हेलिकप्टर तथा करिब १० हजार सैनिक खटाइएको छ ।
गत २४ घण्टामित्र करिब एक हजार ४०० व्यक्तिलाई अन्यत्र सारिएको छ । यस क्षेत्रमा अझै १८ हजार मानिस अलपत्र परेको वायुसेनाले जानकारी दिएको छ ।
भारतीय–तिब्बती सीमा प्रहरी प्रमुख अजय चड्डाले बालबालिका तथा महिलालाई उद्धार गर्नु आफूहरूको पहिलो प्राथमिकता भएको बताए ।
उनले पहिले जीवित व्यक्तिलाई उद्धार गरिने तथा त्यसपछि पुरिएका व्यक्तिको खोजी गरिने बताए ।
बाढी तथा पहिरोका कारण घर, भवन तथा गाडीहरू बगेको तथा तीर्थस्थलसम्म पुग्ने साना बाटो तथा पुलहरू पनि नष्ट भएको अधिकारीहरूले बताएका छन् ।
उत्तराखण्डमा सामान्यभन्दा ४.५ गुणा बढी वर्षा भएको बताइएको छ ।
तीर्थयात्री परविन्दर सिंहले सीएनएन–आईबीएनलाई टेलिफोनमा करिब तीन हजार व्यक्ति हाल गङ्गोत्रीमा गत केही दिनदेखि रहेको र त्यहाँ खाना तथा पानी केहीको पनि व्यवस्था नभएको बताए ।
उत्तराखण्ड तथा दुई छिमेकी राज्यमा बाढी तथा पहिरोका कारण कम्तीमा १३८ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । तीर्थस्थलका अधिकारीहरूले भने एक हजारभन्दा बढीको मृत्यु भएको हुनसक्ने चेतावनी दिएका छन् ।
केदारनाथ तथा बद्रीनाथका अनेकौँ धर्मस्थल व्यवस्थापन समितिका अध्यक्ष गणेश गोयलले चारैतिर शवहरू छरिएको देखिएकाले आफूहरूले एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको अनुमान गरेको बताए ।
सीमापारी नेपालमा मनसुन वर्षाबाट आएका बाढी तथा गएको पहिरोका कारण दुर्गम क्षेत्रमा कम्तीमा ३९ व्यक्तिको मृत्युभएको अधिकारीहरूले बताएका छन् ।
भारतीय अर्धसैनिक अधिकारीहरूले नदी तर्न डोरी तथा काठको पुल बनाइरहेको बताइएको छ । टेलिभिजनमा तीर्थयात्रीहरूले यस्ता सामग्री प्रयोग गरेको देखिएको छ ।
सैनिक क्रियाकलाप हाल सबैभन्दा प्रभावित केदारनाथ मन्दिर क्षेत्र पुग्नेमा केन्द्रित रहेको छ ।
एक सैनिकले आफूलाई सञ्चारकर्मीसँग बोल्ने अनुमति नभएकाले आफ्नो परिचय नदिने सर्तमा आफूले सम्पूर्ण बाटो तथा गाउँ भत्केको देखेको र यस्तो अवस्था यसअघि कहिल्यै नदेखेको बताए । अलपत्र पर्नेमा भारतीय क्रिकेट खेलाडी हरवजन सिंह पनि परेका छन् ।
बाटो अवरुद्ध भएको स्थानमा पुग्न नसकिएको अवस्थामा मृतकको सङ्ख्या निश्चित हुनसकेको छैन ।
उत्तराखण्ड राज्यका सांसद शैला रानी रावतले मर्नेको सङ्ख्या दुई हजार पुगेको बताइन तर प्रकोप व्यवस्थापन अधिकारीहरूले यसलाई पुष्टि गर्न सकेनन् ।
सरकारले राष्ट्रिय प्रकोप व्यवस्थापन समूहका १३ समूहमा १० हजार सैनिक हाल खटाइएको जानकारी दिएको छ ।
अन्यत्र सारिएका व्यक्ति तथा पर्यटकका लागि उद्धार शिविर स्थापना गरिएको, ३० विमानले उद्धार गरिएकालाई ती शिविरमा लगेको तथा प्रभावित दुर्गम क्षेत्रमा १४ टन खाद्यान्न तथा उद्धार सामग्री खसाइएको जानकारी वायुसेनाले दिएको छ । एजेन्सी
प्रकाशित मिति:
June 20, 2013