चीनले छाडेको जासुसी भन्दै भारतीय सेनाद्धारा आकाशमा चम्कने ताराको ६ महिना निगरानी
साउन १६ । वारीपारीका दुवै निक्कै शक्तिशाली राष्ट्र चीन र भारतबीच बेला बेला मनमुटाव हुँदै आएको छ । यस्तो बेला एकले अर्कालाई शंकाको घेरामा राख्नु नौलो कुरो पनि होइन ।
तर भारतीय सेनाले आकाशमा चम्किएका ग्रहलाई चीनले छाडेको जासुसी जहाज हुनसक्ने भन्दै ६ महिनासम्म निगरानी राखेको खबर बाहिर आएपछि यसले भने ठूलै हाँसो नै पैदा गरिदिएको छ ।
आकाशमा चम्किएका ग्रहलाई चीनले छाडेको जासुसी जहाज भन्ने गलत अनुमान गर्दै भारतीय सेनाले आफ्नो ६ महिना निगरानी गरेको भारतीय पत्रिका टेलिग्राफको समाचारलाई बिबिसीले उल्लेख गरेको छ । यो घटनाले भारतीय सेनाको प्राविधिक क्षमतामा समेत प्रश्न उब्जाईदिएको छ ।
आकाशमा चम्किने शुक्र र बृहस्पती ग्रहलाई भारतीय सेनाले चीनले छाडेका जासुसी मानव रहित जहाज भएको आशंकामा ६ महिना निगरानी गरे पनि अन्तमा उक्त वस्तु आकाशमा चम्कने ग्रह भएको पुष्टि भएपछि यस घटनाले निक्कै चर्चा पिटेको हो ।
दुइ देशबीचको विवादित सिमा क्षेत्र माथिको आकाशमा देखिएका चम्किला वस्तुहरु भारतीय आकाशमा प्रवेश गरी सीमा उल्लंघन गरेको ठहर भारतीय सेनाले गरेको थियो । त्यो क्रम ६ महिनासम्म चलेको थियो ।
तर, पछि खगोलविद्हरुले टेलिस्कोपको सहायताले अवलोकन गर्दा उक्त वस्तु जासुसी विमान नभएर ग्रह भएको पुष्टि भएको थियो ।
प्रकाशित मिति:
July 31, 2013