झ्वाँम पारेकै हुन त १२ करोड ?
भदौ १९ । काठमाडौं र ललितपुरका विद्यालयहरुले लिएको करिब १२ करोड रुपैयाँको खर्च कहाँ भयो भन्ने विषयमा अलमल उत्पन्न भएको छ ।
दुई जिल्लाका २ सय २५ भन्दा बढी विद्यालयले शिक्षा कार्यालयबाट शैक्षिक तथा भौतिक सुधारका लागि लिएको उक्त कहाँ खर्च भयो त भन्ने खर्च विवरण बुझाउन विद्यालयहरुले नसकेका हुन् ।
सरकारी खर्च लेखापरीक्षण गर्ने महालेखा परीक्षकको कार्यालयले यति ठूलो रकमको खर्चबारे जिल्ला शिक्षाले चासो नलिँदा उक्त रकम झ्वाम पारेको आशंका गरिएको छ । यसले सरकारी खर्चको पारदर्शितामा प्रश्न पनि उब्जाईदिएको छ ।
महालेखा स्रोतका अनुसार शिक्षा कार्यालय काठमाडौंले मावि र निमाविलाई दिएको करिब २ करोड ८ लाख रुपैया'को खर्च औचित्य पुष्टि गर्न सकेको छैन । 'फ्रिज हुने भएपछि अघिल्लो वर्षको असार मसान्तमा हतार-हतार रकम निकासा गरिएको देखिन्छ,' महालेखा स्रोतले भन्यो, 'के काममा कसरी रकम खर्च भयो ? शिक्षा कार्यालयको लेखाले जवाफ दिन सक्दैन । कुनै कागजात पनि छैन ।' उक्त रकमको खर्च पुष्टि हुने कागजात शिक्षा कार्यालयले दिन सकेको छैन ।
सामुदायिक उच्च माविलाई दिएको ४४ लाख रुपैयाँको पनि खर्च विवरण शिक्षा कार्यालयले उपलब्ध गराउन नसकेको पनि कान्तिपुर दैनिकमा छापिएको खबरमा उल्लेख छ ।
प्रकाशित मिति:
September 04, 2013