प्रदेश तीनका सांसदले बस्न भाडाको घर खोज्न नपर्ने
अञ्जली थापा
हेटौँडा, २३ माघ । प्रदेश नं ३ का सांसदहरुलाई हेटौँडामा भाडाको घरमा बस्न नपर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतका अनुसार सांसदहरुका लागि सरकारी भवनमा आवासको व्यवस्था गरिने भएकाले भाडाको घर खोज्न नपर्ने भएको हो ।
मुख्य मन्त्री र मन्त्रीसँगै अन्य जिल्लाबाट आउने सांसदलाई पनि सरकारी भवनमा आवास मिलाउने तयारी गरिएको जानकारी दिंदै उनले भने, “जम्मा ११० जनाबाट १० जना मन्त्री बन्ने भएकाले उनीहरूका लागि आवासको व्यवस्था मिलाइसकेको र चारजना मकवानपुर र छजना चितवनका सांसद बाहेक ९० जनालाई आवासको व्यवस्था हामी गर्दैछौँ ।”
उपमहानगरप्रमुख महतका अनुसार हेटौँडा सिमेन्ट उद्योगको भैँसेमा रहेको क्वाटर, हेटौँडा कपडा उद्योगको खाली भवन, हेटौँडा कोटिसिएनमा रहेको टिम्बर कर्पोरेसनका क्वाटर र डिभिजन सडक कार्यालय भवनमा आवासको तयारी भइरहेको छ । हेटौँडामा सरकारी भबन पर्याप्त रहेकाले अवासको व्यवस्थापन मिलाउन सहज भएको उनको भनाइ छ ।
मकवानपुरका राजनीतिक दलका नेताहरु र यहाँका सांसदहरुले पनि प्रदेशको स्थायी राजधानीका लागि पहल गरिरहेका कारण हेटौँडा उपमहानगरले गरिरहेको व्यवस्थापनले सो कार्यका लागि थप मद्दत मिल्ने मकवानपुरका सांसद प्रेमबहादुर पुलामीले बताए ।
मकवानपुरकै अर्का सांसद इन्द्रबहादुर बानियाँले स्थायी राजधानीका लागि पहल भइरहँदा सांसदहरुको आवास पनि महत्वपूर्ण रहेको बताए । उनले हेटौँडामा सांसदलाई अन्य प्रदेशमा जस्तो कोठा खोज्न भौँतारिनु नपर्ने जानकारी दिए ।
प्रकाशित मिति:
February 06, 2018