प्रधानाध्यापकको कुटाइबाट शिक्षिकाको गर्भपतन

प्रधानाध्यापक प्रभुप्रसाद यादव र उनकी छोरी अमिता यादवको कुटाइबाट सोही विद्यालयमा कार्यरत शिक्षिका अनिता पाण्डेयको चार महिनाको गर्भ तुहिएको उजुरी प्रहरीमा परेको हो।
जिल्ला शिक्षा कार्यालयले पाँच महिनाअघि राहत कोटाबाट थप दरबन्दीमा शिक्षिका पाण्डेलाई सो विद्यालयमा पठाएको थियो।
विद्यालयको कोठामा पस्न नदिएपछि बाहिर बसिरहेको बेला गालीगलौज गरी प्रधानाध्यापक यादवले लात्तीले हान्दा लडेर गर्भ तुहिइएको पीडितको आरोप छ।
तौलिहवा अस्पतालका चिकित्सक सोवित सुनुवारले शिक्षिका पाण्डेको गर्भ तुहिएकाले पाठेघर सफा गरी थप उपचार भइरहेको बताए।
जिल्ला शिक्षा कार्यालयले पटकपटक तलब खुवाउन निर्देशन दिए पनि प्रधानाध्यापक यादवले शिक्षिका पाण्डेलाई हालसम्म हाजिरसमेत गर्न दिएका छैनन्।
घटनापछि फरार भएका यादव र उनकी छोरी अमिताको खोजीकार्य जारी रहेको र घटनाको थप अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक रवीन्द्रप्रसाद शर्माले जानकारी दिए। - रासस
प्रकाशित मिति:
September 05, 2013