टिका र आर्शिावादका साथ विजया दशमी मनाइदै
असोज २८- बडादसैैँको आज मुख्य दिन, आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ । आज बिहान ९ बजेर २५ मिनेटमा देवी विसर्जन र ९ बजेर ५७ मिनेटमा टीका लगाउनका लागि शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर टीकाको साइतपछि दिनभरि पनि टिका लगाउन मिल्ने समितिले जनाएको छ । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ । घटस्थापनादेखि नौ दिनसम्म दसैँघरमा दुर्गाभवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आज लगाउने प्रचलन छ । पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्णघडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट नवदुर्गाभवानीको प्रसाद, टीका र जमरा लगाइन्छ । आजै राष्ट्रपति डा रामवरण यादवले दिउँसो १ बजेदेखि सर्वसाधारणलाई टीका लगाइ दिनुहुने कार्यक्रम छ । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न इच्छुकहरुलाई साँझ ५ बजेसम्म शीतल निवासको ढोका खुल्ला रहनेछ ।
प्रकाशित मिति:
October 14, 2013