३३ दल अब सडकमै, बन्द अझै चर्काउने निर्णय
कात्तिक २९ । नेकपा–माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले घोषित आन्दोलनलाई अझ सशक्त र प्रभावकारी रुपमा अघि बढाउने निर्णय गरेको छ ।
माओवादी पार्टी कार्यालय बुद्धनगरमा बिहीबार बसेको मोर्चाको कार्यदल बैठकले उपत्यकामा अन्य जिल्ला भन्दा आन्दोलन निष्क्रिय रहेको भन्दै उपत्यकामा पनि आन्दोलनलाई थप सक्रिय बढाउने निर्णय गरेको छ ।
माओवादी प्रवक्ता पम्फा भुसालले आन्दोलनलाई थप सशक्त बनाएर अघि बढाउने निर्णय भएको बताइन् ।
छलफलमा उपत्यकामा आमहड्ताल प्रभावकारी बनाउन जनपरिचालन गर्ने, नेता तथा कार्यकर्ता सडकमै उत्रने लगायतका विषयमा छलफल भएको माओवादी नेवाः राज्य सहइन्चार्ज पवनमान श्रेष्ठले जानकारी दिए । आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने विषयमा ठोस निर्णय नभएको भन्दै नेता श्रेष्ठले शुक्रबार नै ३३ दलको बैठक बसेर ठोस कार्यक्रम ल्याउने पनि जानकारी दिए ।
मोर्चाले आमहड्ताल दबाउन सरकारले सडकमा सेना परिचालन गरेकोप्रति आपत्ति समेत जनाएको छ । आन्दोलनका क्रममा घुसपैठ भएको भन्दै हिंसात्मक घटनाको जिम्मेवारी भने मोर्चाले लिएको छैन ।
सरकारले बन्दकर्तालाई अन द स्पट पक्राउ गर्न निर्देशन दिएपछि बन्दकर्ताहरु लुकीछिपी बन्द गर्दै आएकोमा अब भने सडकमै उत्रेर बन्द सफल गराउन लाग्ने गरी योजना आउन लागेको स्रोतले बताएको छ ।
माओवादी प्रवक्ता भुसालले पनि आन्दोलन सफल बनाउन जस्तो सुकै कदम चाल्न आफूहरु तयार रहेको बताएकी छिन् । आवश्यकता अनुसार अब हामी सडकमै हुनेछौं उनको भनाई छ ।
प्रकाशित मिति:
November 15, 2013