त्रासित समाचार नदिन टिभी समाचार प्रमुख र सञ्चालकलाई सरकारको आग्रह
काठमाडौं । नेकपा-माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको आन्दोलनको पक्षमा सहयोग नगर्न गृह मन्त्री र सञ्चारमन्त्रीले सबै टेलिभिजनका समाचार प्रमुख र सञ्चालकहरुलाई भेला पारेर निर्देशन दिएको खुल्न आएको छ ।
गृहमन्त्री माधव प्रसाद घिमिरे र सञ्चारमन्त्री माधव पौडेलले मंगलबार टेलिभिजनका सञ्चालक र प्रमुखहरुलाई बोलाएर आग्रहमार्फत घुमाउरो तरिकाले आन्दोलन दबाउन निर्देशन दिएको रहस्य खुल्न आएको हो ।
सिंहदरबारमा दुई घण्टासम्म भएको भेटमा गृह र सञ्चारमन्त्रीद्धय माधवले निर्वाचन सफल बनाउने जिम्मा त तपाईहरुकै हो भन्दै पटक पटक आतंक नफैलाउने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरेको भेटमा सहभागी एक टेलिभिजनका समाचार प्रमुखले हेलोखबरलाई बताए ।
'उनीहरुका आश्वासन पनि धेरै सुनियो, मिडियाको भूमिकाबारे पाठ पनि सुनाए' उनले भने, 'मैले त मिडियालाई सत्यतथ्य खबर नलेख्नुहोस्, हाम्रो पक्षमा मात्रै लेखिदिनुस् भनेर प्रेस स्वतन्त्रता नै कुण्ठित गरेको बुझें ।'
उनले कुनै पनि मिडियाको सम्पादकियमाथि नै यसरी हस्तक्षेप गरेर यस्तो समाचार दिनुहोस् र यस्तो नदिनुहोस् भन्ने गुमाउरो तरिकाको निर्देशनले प्रेस स्वतन्त्रताको खिल्लि उठेको आभास भएको अनुभव समेत सुनाएका छन् ।
प्रकाशित मिति:
November 13, 2013