• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Health, स्वास्थ्य » सबैभन्दा बढी अपाङ्ग बनाउने रोगबारे योजना तर्जुको तयारी
सबैभन्दा बढी अपाङ्ग बनाउने रोगबारे योजना तर्जुको तयारी

पुस २९ । मानिसहरुलाई अपाङ्ग बनाउने विश्वकै सबैभन्दा ठूलो रोगका रुपमा मानिएको हात्तिपाइले रोग निवारणका लागि सरकारले विभिन्न चरणका योजना तर्जुमा गोष्ठी सुरु गरेको छ । त्यसको पहिलो गोष्ठी बर्दियाको ठाकुरद्धारामा सुरु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मध्य र सुदुरपश्चिमका १४ वटा जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुखहरुका बीच हात्तिपाइले रोग निवारणका लागि चलाइने अभियानका लागि योजना तर्जुमा गोष्ठी सुरु गरेको हो । गोष्ठीमा सुदुरपश्चिमका ९ वटै जिल्ला र मध्यपश्चिमका ५ वटा जिल्लाको उपस्थिति रहेको छ । महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले गोष्ठीमा सुदुरपश्चिमका दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, अछाम, कैलाली र कञ्चनपुर तथा मध्यपश्चिमका बाँके, बर्दिया, सुर्खेत, दैलेख र जाजरकोट जिल्लाका जनस्वास्थ्य प्रमुखको उपस्थिति रहेको जानकारी दिएका छन् । 

साथै उनले मध्य र सुदुरपश्चिमका क्षेत्रीय, उपक्षेत्रीय र अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टहरुको पनि उपस्थिति रहने बताए । डा. मरासिनीका अनुसार यस्तो योजना तर्जुमा गोष्ठी बुटवल र विराटनगरमा पनि आयोजना गरिएको छ । बुटवलमा माघ २ र ३ गते आयोजना गरिएको उक्त गोष्ठीमा राप्ती अञ्चलका ५ जिल्ला र पश्चिमाञ्चल विकास क्षेत्रका अर्घाखाँची, कास्की, लम्जुङ, पर्वत, म्याग्दी र बाग्लुङ गरी ६ वटा जिल्लाका जिल्ला जनस्वास्थ्य प्रमुख सहभागी हुनेछन् । त्यसैगरी माघ ६ र ७ गते विराटनगरमा आयोजना गरिएको गोष्ठीमा मध्यमाञ्चलका ३ र पूर्वाञ्चलका १२ वटा जिल्ला सहभागी हुनेछन् । 

नेपालमा हात्तिपाइले रोग निवारण अभियान सन् २००३ देखि नै सुरु भएको हो । लगातार ६ वर्षसम्म औषधी खाएमा यो रोग पूर्ण रुपमा निवारण हुन सक्ने हात्तिपाइले रोग निवारण अभियानका केन्द्रीय फोकल पर्सन तुल्सी अधिकारी बताउँछन् । सन् २०२० सम्म नेपालबाट पूर्ण रुपमा यो रोग निवारण गर्ने उद्देश्यका साथ यो अभियान सुरु भएको हो । महाशाखाले सन् २००३ देखि लगातार प्रत्येक वर्ष एक पटक आम औषधी सेवन कार्यक्रम सुरु गर्दै आएको छ । अभियानका फोकल पर्सन तुल्सी अधिकारीले यो वर्ष पनि माघ २५ गतेदेखि यो अभियान सुरु गरिने बताए । यस वर्षको अभियान २ चरणमा हुनेछ । पहिलो चरणमा ३१ जिल्लामा औषधी खुवाइनेछ । माघ २५, २६ र २७ गते हुने पहिलो चरणको अभियान अन्तर्गत भोजपुर, इलाम, झापा, मोरङ, ओखलढुंगा, पाँचथर, सप्तरी, सिराहा, सुनसरी, उदयपुर, अर्घाखाँची, बाग्लुङ, कास्की, म्याग्दी, पर्वत, लम्जुङ, दाङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, वैतडी, डलेल्धुरा, डोटी, कैलाली र कञ्चनपुर जिल्लामा औषधी खुवाइनेछ । 

त्यसैगरी फागुन १०, ११ र १२ गते हुने दोस्रो चरणको अभियान अन्तर्गत धनुकुटा, तेह्रथुम, काठमाडौं, ललितपुर, भक्तपुर, अछाम, बझाङ, बाजुरा र दार्चुला गरी ९ जिल्लामा औषधी खुवाइने फोकल पर्सन अधिकारीले जानकारी दिएका छन् । 

हात्तिपाइले रोग लामखुट्टेबाट सर्ने सरुवा रोग हो । मसिनो धागो आकारको उच्चेरेरिया बाँन्क्रोफ्टी नामको परजीवीबाट यो रोग लाग्ने विज्ञहरु बताउँछन् । त्यो खतरानाक परजीवी लामखुट्टले मात्र सार्दछ । यो रोग लागिसकेपछि जीवनभर निको हुँदैन । तर, औषधी खाएमा यो रोगलाई पूर्ण रुपमा निवारण गर्न सकिने बताइएको छ । नेपालमा पनि लगातार ६ वर्ष औषधी खाएमा पूर्ण रुपमा यो रोगलाई निवारण गर्न सकिने महाशाखाले जनाएको छ । यो रोग विश्वमा आर्थिक र सामाजिक रुपमा असर पार्ने सबैभन्दा ठूलो रोग पनि हो । 

हात्तिपाइले रोगबाट विश्वका ७० भन्दा बढी देश प्रभावित रहेका छन् । यो रोग लागेमा खुट्टा सुनिने, अन्डकोष सुनिने र यौनाङ्ग सुनिने गर्दछ । ७० देशका एक अरबभन्दा बढी मानिसहरुलाई यो रोग लाग्न सक्ने सम्भावना रहेको बताइन्छ । हालसम्म १२ करोड मानिसहरु यो रोगबाट संक्रमित भइसकेको बताइएको छ । एक अध्ययन अनुसार विश्वका एक करोड ५० लाख मानिसहरुमा हात्तिपाइले र २ करोड ५० लाख मानिसहरुमा अन्डकोष तथा यौनाङ्ग सुन्निएको पाइएको छ । साथै आठ करोड मानिसहरुमा साधारण खाले लक्षण देखा परिरहेको बताइन्छ । यो रोगबाट खासगरी दक्षिण अमेरिका, अफ्रिका, दक्षिण पूर्वी एशिका देशहरु र पश्चिमी प्यासिफिक क्षेत्रका देशहरु बढी प्रभावित छन् । 

यो रोग निवारण अभियान अहिले विश्वका ७० भन्दा बढी देशमा सञ्चालन भइरहेको छ । यो अभियान अन्तर्गत डाइईथाइलकार्बामाजिन (डी.इ.सी) र अल्बेन्डाजोल नामक औषधी खुवाउने गरिएको छ ।

प्रकाशित मिति: January 13, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |