दोस्रो विहे गरेपछि अलपत्र बालबालिकालाई सहयोग प्रदान
दिप बहादुर घर्ति
जाजरकोट २५ पुस । दोस्रो विवाह गरेर बाबु फरार भएपछि अलपत्र परेका जाजरकोट खलंगा ५ पोखराका बालिकालाई जिल्ला बालकल्याण समितिले ५ हजार रुपैया सहयोग गरेको छ ।
अन्र्तजातिय विवाहका कारण घरपरिवारले पनि आमालाई स्वीकार नगरेको र बाबुले पनि अर्को विहे गरेर बेपत्ता भएपछि जोखिममा परेका ८ बर्षिय रोशनी , ६ बर्षिय किरण , ४ बर्षिय ज्योति र १ बर्षकि चाँदनीलाई सो सहयोग गरिएको हो । तत्काल खान बस्नको ब्यवस्थाको लागी बालकल्यान समितिको निर्णय अनुसार उक्त रकम सहयोग गरिएको बालविकास अधिकृत डम्वर रोकायले बताए । उक्त रकम बालिकाकी आमा जानुका लाई निमित्त महिला तथा बालबालिका कार्यालयका प्रमुख सकुन्तला आचार्यले विहिवार प्रदान गरिन ।
सँगै मर्ने सँगै बाँच्ने कसम खाएर दश बर्ष अघि अन्र्तजातिय विवाह गरेका आफ्नै पतिले धोका दिए पछि जाजरकोट खलंगा ५ पोखरा कि जमुना वि.क अहिले घर न घाट कि भएकी छन् भने चार जना छोरीहरु समेत जोखिममा परेका छन् । सोही ठाँउ घर भएका उनका पति गंगाराम बुढाले केही समय अघि सौता ल्याएपछि उनी अहिले अलपत्र परेकी छन् । उनका चार ओटा छोरीलाई लालन पालनको समस्या परिरहेको छ । अन्र्तजातिय विवाह गरेका कारण घरपरिवारले स्वीकार नगरेपछि उनीहरु भारतको हिमाचल प्रदेशको किनोर, पाङ्गीमा गएर बस्दै आएका थिए । उतै कमाई गरेर जहान केटाकेटी पाल्दै आएका बुढा गत दशैमा घर आएका थिए ।
घरपरिवार सँग दशै मानेर तिहार मान्न भारत फर्कने भनेका बुढालाई घरपरिवारले आफ्नै जातको अर्को विहे गरेर यतै बस उता नजा भनेपछि उनले चार छोरी र श्रीमतिलाई चटक्कै विर्सेर घरपरिवारले भने अनुसार गरे । आफ्ना पति फर्किएर नगएपछि सोधी खोजी गर्दा अर्को विहे गरेको खवर थाह पाएपछि जमुना छाँगाबाट खसे झै भईन र तत्काल आफ्नै जन्मथलो फर्किईन । तर घर फर्कदा पतिको घरमा न पति भेटिन न त पाईलै टेक्न पाईन । उनका श्रीमान रुकुम गराईलाकि भावना बुढालाई लिएर फरार भएको थाह पाईन । काँहाँ हुनुहुन्छ थाह छैन सम्पर्क पनि गर्नु हुदैन उनले भनिन् । ईन्डिया हुँदा एक पटक फोन गर्नु भएको थियो घरपरिवारको आग्रहमा मैले दोस्रो विहे गरे दुवैलाई पालेर राख्छु भन्नु भएको थियो तर त्यसपछि सम्पर्कमा हुनुहुदैन उनले भनिन् । सासु ससुराले तल्लो जातको भनेर घरमा बस्न दिनु भएन अहिले माईतीमै बस्दै आएकी छु । यी छोरीहरुलाई कसरी पालु उनले दुःख प्रकट गरिन । जेठी छोरी ३ कक्षामा र माईली छोरी एक कक्षामा पढथिन तर यता आए देखी पढ्ने समेत ब्यवस्था गर्न नसकेको उनले बताईन् । आफ्नो भन्दा छोरीहरुको चिन्ता लागेको छ कसरी पढाउने र हुर्काउने भन्ने चिन्ताले सताईरहेको छ जमुनाले भनिन् ।
हाल सम्म विवाह दर्ता नगरेकी उनी गाविसमा उजुरी दिन जाँदा श्रीमानले एक महिना अघि विहे गरेकी कान्छि श्रीमति सँग विहे दर्ता गरेको थाह पाउँदा झन् दुखी भएकि छन् । बुढाले विहे लगत्तै कान्छि श्रीमति सँग विवाह दर्ता गराएको खलंगा गाविसले जनाएको छ । गाविस सचिव शेरबहादुर के.सी.ले भने पहिलो विवाह भनेर दर्ता गराउन आए हामीले गरिदियौ । विवाह दर्ता नहुँदा जमुनालाई श्रीमानबाट अंश दावी र कारवाही गराउन समेत समस्या परेको छ । आईतवार महिला तथा बालबालिका कार्यालयमा न्यायको लागी आएकी जमुनाले सहयोगको याचना गरिन । उनले काँहाँ , कसरी उजुरी दिनु पर्छ भन्ने केही थाह नभएको बताईन् । श्रीमानको खोजी गरि न्याय दिलाई दिन भन्दै उनले प्रहरीमा समेत उजुरी दिएकी छन् । प्रहरीले गंगारामको खोजी भैरहेको जनाएको छ ।
प्रकाशित मिति:
January 09, 2014