नर्भिक अब पूर्ण डिजिटलमा
नर्भिक इन्टरनेसनल हस्पिटल वैशाखसम्म पूर्ण डिजिटल प्रविधिमा जाने भएको छ । बिरामीका लागि अनलाइनबाटै डाक्टर बुकिङ, बारकोडसहितको बिरामी दर्ता, डाक्टरको प्रेस्क्राइभ (बिरामी पुर्जा), परीक्षण रिपोर्ट सबै अनलाइबाटै उपलब्ध गराउने सफ्टवेयर तयार भइरहेको अस्पतालले जनाएको छ ।
सफ्टवेयरमार्फत डाक्टरले बिरामीको अवस्था हेरी अनलाइबाटै सल्लाह–सुझावसमेत दिनेछन् ।
प्रशासनिकदेखि मेडिकलतर्फका सबै काम ‘पेपरलेस’ बनाउने लक्ष्यसहित नर्भिकले ‘ई–हेल्थ’ सुरु गर्न लागेको हो । वैशाखदेखि फाइल बोक्ने, हरेक पटक बिल काट्ने, औषधि किन्न कागज बोकिरहनुपर्ने झन्झटबाट बिरामी र आफन्त मुक्त हुनेछन् तर उनीहरुसँग स्मार्टफोन भने हुनुपर्नेछ । “विरामी आइसकेपछि सबै जानकारी सिस्टममै अपडेट गरिन्छ, सुरुदेखि डिस्चार्ज नभएसम्मका सबै रकर्ड हेर्न सकिनेछ,” हस्पिटलका प्रमुख सञ्चालन अधिकृत दीपक वंशलले भने ।
डिजिटल प्रविधिमा जान अस्पतालले ६० प्रतिशत काम सकिसकेको छ । अनलाइनबाटै प्रेस्क्राइभ गर्ने, रिपोर्ट हेर्ने तथा सल्लाह–सुझाव दिने काम सुरु भइसकेको छ । बिरामीका सबै हार्डकपी राख्नुपर्ने÷नपर्ने विषयमा स्वास्थ्य विभागको व्यवस्था नभएकाले अहिले हार्डकपी राखिएको वंशलले बताए ।
“बिरामीको अवस्था जाँच्न जाँदा डाक्टरसँगै नर्सहरु फाइलमा बिरामीको अवस्था रेकर्ड गर्छन् तर त्यो रेकर्ड अब डिजिटल हुन्छ,” उनले भने, “बिरामी जाँच गरेपछि डाक्टर वा नर्सले तुरन्तै अपडेट गर्न सक्नेछन्, सबै विभाग÷वार्डमा इन्टरनेट र ल्यापटप÷कम्प्युटर व्यवस्था छ ।” रेकर्ड राख्न, बिरामीको अवस्था सहजै जानकारी गराउन र तुरन्तै बिरामीलाई सल्लाह दिन सबै डाक्टरलाई ट्याब्लेट दिइने उनले बताएको खबर कारोबार दैनिकमा छ ।
प्रकाशित मिति:
January 30, 2014