कालिमाटी पुनर्निर्माणका लागि ९ करोड

कृषि विकास मन्त्रालयअन्तर्गतको व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को ९ करोड रुपैयाँ लगानीमा पुनर्निर्माण सुरु भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । “प्याक्टले रकम उपलब्ध गराउने गरी बजार निर्माणका लागि टेन्डर स्वीकृत भइसकेको छ,” समितिका निर्देशक अर्जुन अर्यालले भने । स्थानान्तरणमा समस्या पर्ने भएकाले व्यापार नरोकेरै निर्माण गर्नुपर्ने देखिएको उनले बताए । डेढ वर्षको समय तोकिए पनि १ वर्षभित्रै सक्ने गरी काम सुरु भएको उनले जानकारी दिए ।
समितिका अनुसार आगलागीका क्रममा जलेको भवनको माथिल्लो तला पुनर्निर्माणपछि पुनः सञ्चालन हुनेछ । त्यस्तै कालिमाटी बजारको खानेपानी, ढल निकास र फोहोर व्यवस्थापनसमेत सुधार गरिने भएको छ । करिब ६ सय वटा स्टल रहेको कालिमाटी बजारलाई पुनर्निर्माणसँगै थप व्यवस्थित गरिने समितिको भनाइ छ । यो बजारबाट औसतमा दैनिक ७ सय मेट्रिक टनको थोक तथा फुटकर कारोबार हुने गरेको छ ।
कालिमाटी बजारको पुनर्निर्माणका लागि तरकारी तथा फलफूल व्यवसायीले पटकपटक आन्दोलन गर्दै आएका छन् । “ढिलै भए पनि निर्माण सुरु हुनु सकारात्मक कुरा हो, यथासक्य छिटो निर्माण सम्पन्न हुनु जरुरी छ,” नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने । स्टल वितरण प्रणाली, फोहोर व्यवस्थापनलगायत विषयमा पनि समितिले स्पष्ट मार्गचित्र बनाएर काम गर्नुपर्ने उनको भनाइ छ । कालिमाटी आगलागीको छानबिन प्रतिवेदन भने कृषि विकास मन्त्रालयले अझैसम्म सार्वजनिक गरेको छैन । -कारोबार दैनिक
प्रकाशित मिति:
January 28, 2014