मापसे गर्ने एसएसपीको जागिर धरापमा, प्रधान कार्यालयद्धारा अनुसन्धान थालनी
माघ ५ । मादक पदार्थ सेवन गर्ने महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार भट्टराईको जागिर समेत जाने सम्भावना बढेर गएको छ ।
मापसे गरेर आफ्नो जिम्मेवारी बहन नगरेको भन्दै उनी कारबाहीमा परेका छन् भने प्रधान कार्यालयले उनमाथि अनुसन्धान सुरु गरेको जनाइएको छ । उनीमाथि असक्षम र पदीय हैसियतविपरीतको काम गरेको आरोप लगाई प्रहरी प्रधान कार्यालयले अनुसन्धान अघि बढाएको बताइएको छ ।
आफ्नो कार्यक्षेत्रको समग्र शान्ति सुरक्षामा ध्यान दिनुको साटो शुक्रबार दिउँसैबाट मादक पदार्थ सेवन गरी भट्टराई आफ्नो कार्य सम्पादन गर्न सक्ने अवस्थामा थिएनन् । सोही कारण उनी शुक्रबार राति प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालले बोलाएको आकस्मिक सुरक्षा रणनीति बैठकमा सन्चो नभएका कारण ‘सरी आउन सक्दिनँ’ भन्दै अनुपस्थित भए । तर, अनुपस्थित हुनुको कारण गलत ठहरिएपछि कारबाहीमा परेको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति:
January 19, 2014