सरस्वतीको पूजा गरी श्रीपञ्चमी मनाइँदै
माघ २१ । वसन्तपञ्चमी तथा श्रीपञ्चमीको अवसरमा आज विद्या र वाणीकी देवी सरस्वतीको पूजा आराधना गर्दै देशभर श्रीपञ्चमी मनाइँदै छ ।यस दिन सरस्वतीको पूजाअर्चना गरी विद्यारम्भ गरे राम्रो हुने जनविश्वास अनुसार आज अभिभावकले आफ्ना सन्तानलाई नजिकका सरस्वती मन्दिरमा लगी खरी वा पेन्सिलले अक्षर लेख्न लगाउँछन् ।
आजै स्वयम्भूनजिक मञ्जुश्री चैत्यमा मेला लाग्छ । बौद्ध धर्मावलम्बीले देवी सरस्वतीलाई मञ्जुश्री बोधिसत्त्वका रुपमा पुज्ने गर्छन् । श्रीपञ्चमीको अघिल्लो साँझ ल्हासाको बाटो गरी स्वयम्भूको महारश्मी दर्शन गर्न महाचीनबाट आफ्नी शक्ति वरदा र मोक्षदा मञ्जुश्री काठमाडौं आएको लोककथन छ । त्यसैले उनको थकाइ मेटाउन बालबालिका र महिलाले सरस्वतीको मूर्तिमा तेल घसिदिने चलन छ ।
वासन्ती प्रकृतिको पूर्व रङ यसै दिनदेखि रुखबिरुवामा नयाँ पालुवाका रुपमा देखिने, मानिसको मानसिक प्रकृति बदलिने, शिशिर ऋतुभन्दा बेग्लै किसिमको हावा बहने र बाह्य वातावरणले समेत रमाइलो देखिन थाल्ने भएकाले यस दिनलाई वसन्त ऋतुको पहिलो दिन मानेर वसन्तोत्सव गर्ने परम्परा पनि छ । यसैले यस पर्वको नाम वसन्तपञ्चमी रहेको हो ।
यस अवसरमा हनुमानढोका नासलचोकमा विहान वसन्त श्रवण आयोजना गरिन्छ । राष्ट्राध्यक्षबाट वसन्त श्रवण गर्ने परम्परा छ ।
प्रकाशित मिति:
February 04, 2014