तलब नपाएपछि उपसचिवद्धारा रेग्मीको गाडीमा हामफालेर आत्महत्याको प्रयास
माघ २० । सात महिनादेखि तलब नपाएका शिक्षा मन्त्रालयका एक उपसचिवले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको गुडिरहेको गाडीमा हामफालेर आत्महत्या प्रयास गरेका छन्।
मन्त्रालयका उपसचिव दानीकान्त झाले आइतबार यस्तो प्रयास गरेका हुन्। केही महिनाअघि निजामती सेवा ऐनअनुसार आन्तरिक बढुवा प्रक्रियामार्फत उपसचिव भएका झाले सात महिनादेखिको तलब र अन्य सेवासुविधा पाएका थिएनन्। उनले पदको जिम्मेवारीअनुसार काम गर्ने स्थान समेत पाएका थिएनन्। यिनै कारणले विरक्त भएर आत्महत्या गर्ने प्रयास गरेको बयान झाले प्रहरीलाई दिएका छन्।
बिहान ११ बजे सिंहदरबारमा तय गरिएको बैठकमा सहभागी हुन अध्यक्ष रेग्मी बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट बाहिरिँदै गर्दा उनको गाडीअगाडि हामफालेर झाले आत्महत्या प्रयास गरेका थिए। प्रहरीका अनुसार रेग्मी चढेको गाडी निवासको गेटबाट बाहिर निस्कनेबित्तिकै झा त्यसको अगाडि हामफालेका थिए। रेग्मीको स्कर्टिङमा खटिएका सुरक्षाकर्मी तत्कालै झालाई उद्धार गर्न सफल भएका थिए।
प्रहरीले बुझ्दै जाँदा महोत्तरी सहोरवा घर भएका झा सानोठिमीस्थित शैक्षिक जनशक्ति केन्द्रमा काजमा कार्यरत रहेको खबर अन्नपूर्ण पोष्टमा छापिएको छ ।
प्रकाशित मिति:
February 03, 2014