१९ लाखको ऋण तिरिदिने सर्तमा एमालेमा सभासदको टिकट किनबेच
चैत्र १६ । मंसिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा पार्टीले दिएको उम्मेद्वारीको टिकट बेच्ने र किन्ने दुबै नेतालाई नेकपा एमालेले निलम्बन गरेको छ ।
नेकपा एमाले बागमती अञ्चल कमिटीले पार्टीले दिएको टिकटको दुरुपयोग गरेको निष्कर्ष निकाल्दै जिल्ला उपाध्यक्षसहित एमाले केन्द्रीय शिक्षा विभाग सचिव तथा क्षेत्रीय उपाध्यक्षलाई निलम्बन गरेको खबर नेपाल समाचारपत्रमा खबर छ ।
संविधानसभा निर्वाचनमा पार्टी अनुशासन, पार्टी हित र निर्देशनविपरीत बदनियतपूर्ण काम गरेको भन्दै उपाध्यक्ष बिन्दा ढुंगानालाई ६ महिनाका लागि जिल्ला कमिटी उपाध्यक्षबाट निलम्बन र शिक्षा विभाग सचिव तथा क्षेत्र नम्बर २ का क्षेत्रीय उपाध्यक्ष बद्री मैनालीलाई पार्टी सदस्यता नै समाप्त हुने गरी निलम्बन गरेको हो ।
बागमती अञ्चल कमिटीको चैत १० गते अञ्चल इन्चार्ज पशुपति चौलागाईको अध्यक्षतामा सम्पन्न बैठकले गत संविधानसभा निर्वाचनमा पार्टीले क्षेत्र नम्बर २ का लागि उपाध्यक्ष बिन्दा ढुंगानाको नाममा आएको टिकट दुरुपयोग गरेको अरोपमा उपाध्यक्ष ढुंगानालाई ६ महिना पार्टीबाट निष्कासन गरेको हो ।
असोज १७ गते संविधानसभा निर्वाचनमा प्रत्यक्ष उम्मेद्वारी मनोनयन दर्ता गर्ने क्रममा ढुंगानाले आफ्नो नाममा पार्टीले पठाएको सिफारिसपत्र १९ लाख रुपैयाँको ऋण तिरिदिने सर्तमा क्षेत्रीय उपाध्यक्ष तथा केन्द्रीय मानव संशाधन तथा शिक्षा विभाग सदस्य बद्री मैनालीलाई दिएकी थिइन् ।
प्रकाशित मिति:
March 30, 2014